गम्हरीया – सर्लाहीको मलंगवा नगरपालिका-११, गम्हरीयामा बेवारिसे अवस्थामा फेला पर्नुभएका व्यक्तिको उद्धार गरेर बिहीबार परिवारलाई बुझाइएको छ ।
फागुन २ गते गम्हरीयास्थित सडकमा अचेत भइ लडिरहेको अवस्थामा तत्काल नाम वतन नखुलेको वृद्ध फेला परेका थिए । उनलाई प्रहरीले तत्कालै जिल्ला अस्पताल मलंगवा पठाएर उपचार गराएपछि उनको होस् खुलेको थियो ।
ती वृद्धको घर, परिवार खोजी गर्दै जाँदा उनी धनुषाको मिथिला नगरपालिका-११ बस्ने ७० वर्षीय बुद्ध बहादुर रखाल रहेको खुलेको प्रहरीले जनाएको छ । रखाललाई बिहीबार उनको छोरा सक बहादुर रखालले अस्पतालमै आएर घर लिएर गएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
फोटो क्याप्सन : बेवारिसे अवस्थामा फेला परेका वृद्धलाई परिवारको जिम्मा लगाइँदै । (तस्बीर : उज्यालो अभियान)