logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा पनि ई–पासपोर्ट वितरण थालियो


  • उज्यालो अभियान

एक सेवाग्राहीलाई सोमबार ई–पासपोर्ट प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा पनि ई–पासपोर्ट वितरण सूरु भएको छ । जिल्ला प्रशासन कार्यालय मलंगवाले सोमबारदेखि सेवाग्राहीहरुलाई इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको हो ।

एक महिना भन्दा अघिदेखि इ–पासपोर्टका लागि सेवाग्राहीहरुको फर्म भर्ने र अन्य आवश्यक कागजात संकलन गर्ने काम थालेको कार्यालयले राहदानी विभाग काठमाडौंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सोमबारबाट वितरण सुरु गरेको छ । सोमबार तीन जना सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पासपोर्ट वितरण कार्यको शुभारम्भ गरेका छन् ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीहरुले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिएर जान सक्ने प्रजिअ गौतमले जानकारी दिए । प्रजिअ गौतमका अनुसार आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीहरुलाई इ–पासपोर्ट वितरण उपलब्ध गराईने छ ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्ष पछि ई–पासपोर्ट प्रयोगमा ल्याएको हो । विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ । जिल्लाबाटै अब इ–पासपोर्ट पाइने भएपछि सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।