धनकौल – दुई वर्ष लगातार बन्द भएको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग यस वर्षबाट भने ढिलो गरी भएपनि सञ्चालनमा आएको छ ।
उद्योग सञ्चालन हुने÷नहुने भन्ने अन्यौलतका बीच हिजो (सोमवार) बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालनमा ल्याइएको हो । अब भरै भोलीमै किसानले ल्याएको उखु क्रसिङ गर्न सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले उज्यालो अभियानसँग बताए ।
किसानबाट खरिद गरेको उखुको भुक्तानि दिन नसक्दा यो उद्योग अघिल्ला दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । उद्योगले अधिकांश किसानको भुक्तानि गरिसकेको र कसैको भुक्तानि लिन बाँकी रहेको भए उद्योगमा आउन समेत आग्रह गरेको छ ।
जिल्लामा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले अहिले धमाधम उखु क्रसिङ गरिरहेका छन् । यि दुवै चिनी मिल गएको पुस मध्यबाट सञ्चालनमा आएका थिए । दुवै उद्योगले किसानलाई उखुको भुक्तानि समेत दिन थालिसकेका छन् । सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण गरेको छ ।