नारायणखोला – २७ औँ जनयुद्ध दिवसका अवसरमा आइतबार सर्लाहीको लालबन्दी नगरपालिका-१४, नारायणखोलामा करिव २५ जना पूर्व लडाकुहरुलाई सम्मान गरिएको छ ।
माओवादी केन्द्रको लालबन्दी नगर कमिटीले आईतबार नारायणखोलास्थित डाइनीदोभानमा एक कार्यक्रमको आयोजना गरी जनयुद्धका लडाकुहरुलाई दोसल्ला ओढाएर सम्मान गरेकाे हाे । पार्टीका नगर कमिटी अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन) को अध्यक्षतामा आयोजित कार्यक्रममा नेताहरु मनिष माझी, सन्देश श्रेष्ठ, कृष्ण गौतम लगायतले मन्तव्य राखेका कार्यक्रम संचालक एवं माओवादी केन्द्र लालबन्दी नगर कमिटीका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिए । दिवसकै अवसरमा आइतबार साँझ लालबन्दी बजारमा दीप प्रज्वलन समेत गरिएको छ ।
त्यसैगरी, जनयुद्ध दिवसकै अवसर पारेर आइतबार हरिवन नगरपालिका-८, मा माओवादी केन्द्रको वडा पार्टी कार्यालय उद्घाटन गरिएको वडा कमिटीका अध्यक्ष रामचन्द्र गौतमले बताए ।
यस्तै, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाहीले पनि आइतबार २७ औँ जनयुद्ध दिवस मनाएको छ । हरिवनस्थित सुखेपोखरीमा पार्टीका जिल्ला सेक्रेटरी कमल सुस्लिङको अध्यक्षतामा अन्य नेता कार्यकर्ताहरुसहित भेला भएर जनयुद्धका सम्वन्धमा छलफल गरी दिवस मनाइएको साे पार्टीले जनाएकाे छ ।
तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ सशस्त्र द्वन्द्व सूरुवात गरेको दिनको सम्झनामा आइतबार सो पार्टीले देशैभरी जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसकै अवसरमा मधेश प्रदेश सरकारले आईतबार सार्वजनिक बिदा समेत दिएकाे छ ।
फोटो क्याप्सन : नारायणखोलामा जनयुद्धका लडाकुहरुलाई सम्मान गरिँदै । (तस्बीर : उज्यालो अभियान)