logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीको पूर्व-पश्चिम हुलाकी राजमार्गकाे जिम्मा जनकपुर सारियाे


  • उज्यालो अभियान

जनार्जन खत्री/मलंगवा – लामो समयदेखि अत्यन्त जिर्ण भइ जिल्लावासीले दुःख खेपिरहेका सर्लाहीको पूर्व-पश्चिम हुलाकी सडक अब भने कालोपत्रे हुने आश पलाएको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहट मातहत पर्ने हुलाकी सडक माघ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुर मातहत रहने निर्णय भएपछि सडक कालोपत्रे हुने आश जागेको सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए । सर्लाहीको दक्षिण-पूर्वी भेग संग्रामपुरदेखि दक्षिण-पश्चिम भेग बलरासम्मको हुलाकी सडक वर्षौदेखि जर्जर अवस्थामा रहेको छ ।

यो सडक सामान्य वर्षामा हिलाम्मे र पानी नपरेको समयमा अत्यन्तै धूलाम्मे हुँदा जिल्लावासीले सास्ती खेप्दै आइरहेका छन् । जिल्लाको दक्षिणी भेगका वासिन्दाका लागि मुख्य सडकका रुपमा रहेको पूर्व-पश्चिम हुलाकी सडक अब संघीय सरकार मातहत राष्ट्रिय गौरबको आयोजनामा परेपछि कालोपत्रे हुने आश जागेको मलंगवा नगरपालिकाका प्रमुख साहले बताए ।

यसअघि सर्लाही खण्डको हुलाकी सडक प्रदेश सरकार मातहत राखिँदा बजेट अभाव देखाउँदै निर्माण कार्य अलपत्र छाडिएको थियो । हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका प्रमुख कृष्ण कुमार महतोले यसअघि प्रदेश सरकारबाट टेण्डर हुँदा कालोपत्रे मात्रै गर्ने उल्लेख भएको र अब थप कल्भर्ड, नाला लगायतका संरचना निर्माणका लागि अर्को ठेक्काबाट काम गर्न लागत अनुमान तयार पारेर मन्त्रालयमा पेश भइसकेको र एक हप्ताभित्रै सदर भएर आउने बताए । उनले ठेक्का भएको सुरुको वर्षमा बिनियोजित बजेटबाट हुने काम भएपनि त्यसपछि लगातार पछिल्लो दुई वर्ष बजेट नै विनियोजन नभएकाले काम हुन नसकेको जानकारी दिए ।

उनले राष्ट्रिय गौरबको आयोजनाहरुमा प्रगतिको आधारमा बजेट आउने भएकाले सर्लाही खण्डको पूर्व-पश्चिम हुलाकी सडक कालोपत्रेका लागि बजेट अभाव नहुने बताए । तीन खण्डमा ठेक्का लागेको सडक अहिलेकै ठेकेदारमार्फत आगामी बैशाखसम्म कालोपत्रे गरिसक्ने आफूहरुको योजना रहेको कार्यालय प्रमुख महतोले बताए ।

फाेटाे क्याप्सन : सबारी साधन गुड्दा हुलाकी राजमार्गमा उडेकाे धुलाे । (तस्बिर : उज्यालाे अभियान)