मलंगवा – सर्लाहीको जिल्ला प्रशासन कार्यालय फेरि सहायक प्रमुख जिल्ला अधिकारी विहीन बनेको छ ।
यही माघ ६ गते मात्रै कार्यालयमा सरुवा भएर आएका सहायक सीडीओ उपसचिव नरहरि घिमिरे सहसचिवको लिखित परीक्षामा नाम निस्किएर अन्तर्वार्ताका लागि काठमाडौं गएपछि जिल्ला प्रशासन कार्यालय सहायक सीडीओविहीन बनेको हो । घिमिरे अब अन्तर्वार्तामा पनि नाम निस्किए जिल्ला फर्किने छैनन् ।
यसअघिका सहायक सीडीओ भूमिश्वर पोखरेल सरुवा गराएर गएपछि घिमिरे बल्लतल्ल सर्लाही आएका थिए । सहायक सीडीओ नहुँदा सीडीओलाई नै कार्यबोझ थपिने गरेको छ ।
सर्लाही जिल्ला बारम्बार सहायक प्रमुख जिल्ला अधिकारी विहीन हुने गरेको छ । स्रोतका अनुसार सर्लाहीसहित तराई क्षेत्रमा उपसचिवहरु सहायक सीडीओको रुपमा आउन खासै रुचाउँदैनन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा अहिले प्रशासकीय अधिकृतहरु भने दरबन्दी अनुसार नै छन् । तीन जना प्रशासकीय अधिकृत भएपछि कार्यालयले सेवाग्राहीहरुलाई एकैदिनमा नागरिकता प्रदान गर्न थालेको छ भने अन्य विभिन्न किसिमका सेवा प्रवाहमा पनि सहजता आएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।