मलंगवा – मानवसेवा आश्रम सर्लाही शाखाले मानवता प्रवर्द्दन महाअभियान अन्तर्गत सर्लाही सदरमुकाम मलंगवा बजारमा सडकको अवस्था अवलोकन गरेको छ ।
नियमित रात्रिकालिन सडकसेवा अन्तर्गत जिल्ला सदरमुकाम मलंगवामा पहिलो पटक सडकको अवस्था अवलोकन गरिएको हो । मानवसेवा आश्रम केन्द्रीय कार्यालयको निर्देशन अनुरुप मानवसेवा आश्रमको सात प्रदेशका सम्पूर्ण १७ वटै जिल्ला शाखाहरुले शनिबार बेलुका एकै पटक रात्रिकालिन सडक सेवा गरेका हुन् ।
सदरमुकाम मलंगवामा भएको सडक सेवामा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति काैशलकिशाेर राय, नेपाल पत्रकार महासंघकाअध्यक्ष टंकबहादुर क्षेत्री सहित जिल्लाका सञ्चारकर्मीहरु, आश्रमका अभिभावकहरु सुकदेव कार्की, सराेज अधिकारी लगायतकाे उपस्थिती रहेको मानवसेवा आश्रम सर्लाही शाखाकी संयोजक सम्झना अधिकारीले जानकारी दिईन् । सडकमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्दार गर्ने उद्देश्यले नियमित रुपमा रात्रिकालिन सडक सेवा अभियान सञ्चालन गर्दै आइरहेको अधिकारीले बताईन् ।
मलंगवाको साेही कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष समेत रहेका उज्यालाे अभियान नेपाल र उज्यालाे अभियान मिडिया नेटवर्क प्रालिका अध्यक्ष टंक बहादुर क्षेत्रीले मानवसेवा आश्रम सञ्चालनका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर आश्रमलाई उक्त सहयोग रकम प्रदान गरेका हुन् ।
फाेटाे क्याप्सन : शनिबार साँझ रात्रिकालिन सडक मानव अवलाेकन कार्यक्रममा उपस्थित प्रजिअ थानेश्वर गाैतम सहितका व्यक्तित्वहरु । (तस्बिर : उज्यालाे अभियान)