logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीका १८ पालिका अझै दमकलविहीन


  • उज्यालो अभियान

मलंगवा नगरपालिकाको बिग्रिएर थन्काइएको दमकल ।

जनार्जन खत्री/हरिवन – सर्लाहीका २० वटा स्थानीय तहमध्ये १८ वटा स्थानीय तह अझै दमकलविहीन रहेका छन् ।

जिल्लाको दक्षिणी भेगमा सदरमुकाम मलंगवा नगरपालिका र उत्तरी भेगस्थित पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा हरिवन नगरपालिकासँग मात्रै दमकल रहेको छ । अन्य स्थानीय तहले दमकल खरिदमा चासो देखाएका छैनन् ।

जिल्लामा कहीँकतै आगलागी हुँदा मलंगवा र हरिवन नगरपालिकाकै दमकल पुग्ने गरेका छन् । ग्रामीण भेगका पालिकाहरुमा आगलागीको घटना भएका बेला समयमै दमकल पुग्न नसक्दा जनधनको धेरै क्षति हुँदै आएको छ ।

हरिपुर नगरपालिका–३, फरहदवाका स्थानीय ज्ञानेश्वर मण्डलले जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिन लाग्दा समेत अतिआवश्यक पर्ने दमकल खरिदमा कुनै चासो नदेखाएका गुनासो गरे । आफूहरुको पालिकामा दकमल नहुँदा सुक्खायामाम बर्सेनि हुने आगलागी नियन्त्रणमा समस्या हुँदै आएको मण्डलले बताए ।

गत वर्ष जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठकले विभिन्न पालिकाहरु मिलेर संयुक्त रुपमा दमकल खरिद गर्ने निर्णय गरेको थियो । तर निर्णय भएको एक वर्ष भइसक्दा समेत कुनै पनि स्थानीय तहले दमकल खरिदको प्रक्रिया अघि बढाएका छैनन् ।

पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले पालिकाले मात्रै दमकल सञ्चालनको खर्च धान्न नसक्ने देखेर अहिलेसम्म दमकल खरिद नगरेको बताएका छन् । सदरमुकाम मलंगवा नगरपालिकाको दमकल बारम्बार बिग्रिएर अत्यधिक खर्च भइरहेको देखेरै आफ्नो गाउँपालिकाले दमकल खरिद गर्ने आँट नगरेको रायको भनाई छ ।

तीन/चार वटा पालिका मिलेर संयुक्त रुपमा दमकल खरिद गर्ने निर्णय भएपनि त्यसतर्फ अहिले कुनै पनि पालिकाले चासो नदिएको रायले स्वीकार गरेका छन् । सर्लाहीमा अहिले रहेका दुईवटा दमकलमध्ये सदरमुकाम मलंगवा नगरपालिकाको दमकल बिग्रिएर थन्काइएको छ ।

मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले दमकल मर्मतका लागि ग्यारेजमा लगेर राखिएको र भारतबाट सामान मगाइएको जानकारी दिए । नगरप्रमुख साहले आगलागी भएको समयमा दमकल जुनसुकै पालिकामा पुग्नुपर्ने तर खर्च भने नगरपालिका एक्लैले धान्नुपर्दा समस्या भइरहेको गुनासो गरेका छन् । उनले अहिलेको दमकल बारम्बार बिग्रिएर हैरान भइरहेको भन्दै संघीय सरकारसँग अर्को दमकल माग गर्ने तयारी गरिरहेको बताए ।
फोटो क्याप्सन : बिग्रिएर कबार्ड बनेको मलंगवा नगरपालिकाको पहिलो दमकल । (तस्बीर : उज्यालो अभियान)