लालबन्दी – बिहीबार रातीदेखि भइरहेको बेमौसमी वर्षाले सर्लाहीसहित देशैभरको जनजीवन प्रभावित बनाएको छ ।
निरन्तर ठूलो वर्षा नभएपनि छिनछिनमै पानी पर्ने र रोकिनेक्रम चलिरहेको छ । बेमौसममा अहिले परेको पानीले किसानको खेतबारीमा लगाएको हरिया तरकारीसहितका बालीनालीमा क्षति पुर्याएको उनीहरुले गुनासो गरेका छन् ।
विशेषगरी सर्लाहीको उत्तरी भेगमा बारीभरी पाकेर राताम्मे भएको गोलभेँडा पानी परेपछि बिग्रिएको छ । त्यस्तै, पाकेर भित्र्याउने बेला भएको मुसुराे, लहरी लगायतका बालीनालीमा पनि अहिले परेको पानीले क्षति गरेको किसानहरुलाई उद्रित गर्दै विभिन्न स्थानबाट हाम्रा संवाददाताहरुले जनाएका छन् । पानी परेपछि जिल्लाका बजार क्षेत्र तथा भित्री कच्ची सडकहरु हिलाम्मे भएका छन् । दक्षिणी क्षेत्रमा खेत हिलाम्मे हुँदा उखु काटेर चिनी उद्याेगसम्म ढुवानी गर्न पनि समस्या आएकाे छ ।
त्यसैगरी, हावाहुरी र चट्याङसहित वर्षा भइरहँदा सर्लाहीको विद्युत् पनि रातीदेखि नै अनियमित भइरहेको छ । बिहीबार रातीदेखि जिल्लाको विभिन्न क्षेत्रमा अवरुद्ध विद्युत् शुक्रबार दिउँसोबाट बल्ल सूचारु भएको छ । भर्खरै संचालनमा आएको नवलपुर ग्रिड सवस्टेशनमा खराबी आउँदा लालबन्दी, हरिवन, हरिपुर, मलंगवा लगायतको फिडरमा गएराती देखि बत्ती अवरुद्ध भएको थियो ।
दिउँसाेबाट भने नवलपुर ग्रिड स्टेशनको खराबी मर्मत गरिँएसँगै विद्युत् नियमित भइसकेको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जनाएको छ । कतिपय ठाउँमा बिहानबाट बत्ती आउनेजाने भइरहेको थियो भने धेरै ठाउँमा दिउँसो अबेरबाट बत्ती आएको हो ।
विद्युत् अवरुद्ध हुँदा शुक्रबार दिनभर धेरैले मोवाइल चार्ज गर्न पाएनन् भने विभिन्न स्थानमा मोवाईल नेटवर्कमै खराबी आउँदा फोन सेवा नै अवरुद्ध हुन पुगेको थियो । त्यसैगरी, बत्ती नहुँदा धेरै विद्यार्थीहरुको अनलाईन कक्षा पनि प्रभावित बन्यो । दिउँसोबाट पानी पर्न रोकिएर जिल्लाभरको धेरैजसो ठाउँमा विद्युत् सूचारु भएपछि अहिले जनजीवन सामान्य बनेको छ । केही ठाउँहरुमा अझै पनि बत्ती अवरुद्ध नै रहेको स्थानीयवासीले जानकारी गराएका छन् ।