logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बागमतीबाट नगद सहित १२ जना जुवाडे पक्राउ


  • उज्यालो अभियान

फाइल तस्बीर ।

धरहरा – ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलीले बागमती नगरपालिकाकाे धरहराबाट नगद सहित १२ जना जुवाडे पक्राउ गरेकाे छ ।

मंगलबार राती साँढे ११ बजे बागमती नपा-३ धरहरा स्थित ढलक बहादुर तामाङको घरमा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरी नेतृत्वकाे टाेलीले छापा मारेर जुवा खेलिरहेकाे अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएकाे हाे । प्रहरीले ४ लाख ८४ हजार ५० रूपैंया, काैडा समेत बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीका अनुसार पक्राउ पर्नेमा बागमती नपा-३ निवासी ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय संचर घिसिङ र ३४ वर्षीय जित बहादुर बम्जन, बसवरिया गाउँपालिका-५ निवासी ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन् । त्यस्तै हरिवन नपा-१० निवासी ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकास अधिकारी र ५७ वर्षीय अर्जुन केसी, बरहथवा नपा-५ निवासी २८ वर्षीय जुनैन अंसारी र बरहथवा-१० निवासी २९ वर्षीय रामबिर चौधरी, रौटहट चन्द्रनगर नपा-१ निवासी ५१ वर्षीय दिल बहादुर लामालाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

ढाेकामा बाहिरबाट ताल्चा लगाएर काेठाभित्र जुवा खेलाउने गरिएकाे थियाे । प्रहरी टाेलीले पहिला जुवा खेलाउने घरबेटी ढलकबहादुरलाई नियन्त्रणमा लिई ढाेकाकाे चाबी लिएर भित्र जुवा खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएकाे स्थानीयले बताए । त्यहाँ बाह्रैमास जुवा खेलाईने गरेकाे स्थानीय बताउँछन् । पक्राउ परेकाहरुलाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।