सोमबार बिहान मोटरसाईकल फिर्ता गरिँदै । (तस्बिर : उज्यालो अभियान)
हरिवन – ईलाका प्रहरी कार्यालय हरिवनले चोरी भएको एक मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिदिएको छ ।
गत पुस २१ गते प्रहरी निरीक्षक भूपेन्द्र गिरी नेतृत्वको टोलीले हरिवन नगरपालिका–८ चापिनी स्थित भित्री सडकमा बेबारिसे अबस्थामा फेला पारेको प्र.२–०३–०१० प. ८७३७ नम्बरको मोटरसाईकल सगरमाथा ईन्स्योरेन्स कम्पनि हरिवन शाखा प्रमुखलाई हस्तान्तरण गरिएको हो । २२० सीसी क्षमताको पल्सर रातो कालो रंगको मोटरसाईकलको सहि नम्बर भने बाग्मती प्र.०२–०२५प.४५६६ भएको र चोरी गरेपछि नम्बर फेरेर चलाएको देखिएको प्रहरीले जनाएको छ । सोमबार बिहान हरिवन नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शेष महबुब रेजाको रोहबरमा मोटरसाईकल हस्तान्तरण गरिएको थियो । यसैबीच ईलाका प्रहरी कार्यालय हरिवनले यसअघि पनि विभिन्न मितिमा चोरी भई फेला पारिएका ७ वटा मोटरसाईकल सम्बन्धित धनीहरुलाई फिर्ता गरिदिएको थियो ।