logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

धुलोले आक्रोशित स्थानीयद्वारा नवलपुरमा चक्काजाम


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुर चोकका स्थानीयले भत्किएको पूर्व–पश्चिम राजमार्ग मर्मत गर्न माग गर्दै सोमबार दिउँसो चक्काजाम गरेका छन् ।
राजमार्गको कालोपत्रे उप्किएर धूलोका कारण आजित भएका नवलपुरबासीले तत्काल कालोपत्रे भर्न माग गर्दै केहीबेर यातायात ठप्प पारेका हुन् । ठेकेदारले टेलिफोनबाट तत्काल सडक मर्मत गर्ने प्रतिवद्धता जनाएपछि चक्काजाम खुलेको छ ।
नवलपुरका स्थानीयले केही महिनाअघि पनि सडक मर्मतको माग गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । त्यसबेला सामान्य रुपमा सडक मर्मत गरेर अलकत्र हालिएपछि केही समय धूलोको समस्या समाधान भएको थियो । अहिले फेरि सडक भत्किएर अत्यधिक धुलो उड्ने गरेकाले सडक किनारमा व्यापार व्यवसाय गर्नै समस्या भइरहेको नवलपुर चोकका व्यवसायी दीपक श्रेष्ठले बताए ।
सडकको धूलोले छेउछाउ घर भएका स्थानीयबासी र यात्रुहरु पनि मारमा परिरहेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चौकसहित नवलपुर बजार क्षेत्र, लालबन्दीस्थित बस्तीपुर क्याम्पस चोक, हरिवन नगरपालिकाको नयाँरोड लगायतका स्थानमा राजमार्ग भत्किएर अत्यधिक धूलो उड्ने गरेको छ ।
यस्तै, जिल्लाको लखन्देही खोलाको पुल पनि भत्किएको लामो समय भइसक्दा समेत मर्मत हुन सकेको छैन् । जिर्ण पुलमा सवारी साधनको लामो जाम लाग्ने गरेको छ । साँझको समयमा उक्त पुलमा सवारी साधन पास हुनै घण्टौं लाग्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले भने हुस्सु लागेर कालोपत्रे भर्न उपयुक्त तापक्रम नभएकाले राजमार्गको खाल्डाखुल्डी पुर्न नसकिएको जनाएको छ । कार्यालयका प्रमुख दारोगा प्रसादले कालोपत्रे भर्न मिल्ने गरी घाम लाग्नासाथ खाल्डाखुल्डी पुर्ने काम सुरु हुने जानकारी दिए ।
फोटो क्याप्सन : नवलपुर चोक स्थित पूर्व–पश्चिम राजमार्गमा धुलो उडाउँदै गुडेका सबारी साधन । (तस्बिर : उज्यालो अभियान)