कृष्णप्रसाद थपलिया/लालबन्दी – नेपाली कांग्रेसका नेता ध्रुव रिजालले विपन्न परिवारलाई जाडोमा ओड्ने कम्बल प्रदान गरेका छन् ।
नेपाली कांग्रेस लालबन्दी–५ मार्फत आफ्नै गाउँ रन्जितपुर र मेजरगञ्जका १०० जना भन्दा बढी विपन्न नागरिकलाई आईतबार रिजालले पठाएको कम्बल वितरण गरिएको हो । नेपाली कांग्रेस लालबन्दी–५ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका युवा नेता रिजालले जाडोबाट पीडित बनेका विपन्न परिवारलाई थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए । नेता रिजालले राजनीतिसँगै समाजसेवाको क्षेत्रमा लाग्ने र निकट भविष्यमै एक गैरसरकारी संस्था मार्फत सामाजिक गतिविधिमा थप सकृय हुने बताएका छन् ।
यसअघि नेपाल सरकारद्वारा नगर बिकास कोषको अध्यक्ष तथा विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेका रिजालले ती संस्थामा रहदा पनि आफुले समाजको हित हुने काम गरेको बताए । आफू पछिल्लो पटक नगर बिकास कोषको अध्यक्ष रहदा लाललबन्दी लगाएत देशका विभिन्न स्थानमा स्वच्छ पिउने पानीको लागि सहयोग पुर्याएको बताउदै आफ्नो मूलभूत उद्देश्य समाजसेवानै रहेने उनको भनाइ छ ।
नेता रिजालबाट प्राप्त कम्बल वितरण कार्यक्रममा नेपाली कांग्रेस लालबन्दी–५ का सभापति मिनप्रसाद ढुंगेल, उपसभापति ज्ञानबहादुर कटुवाल र खिलनाथ भण्डारी युवा नेता नारायण गुर्मछान, सचिव सुदिप न्यौपाने, सह–सचिव प्रल्हाद बख्रेल, क्षेत्रीय प्रतिनिधिहरू कमल चौधरी, हरि धमला, यादव दाहाल, प्रमोद थपलिया, सीता माझी, चित्र कोश्वार, तिर्थ गजमेर, विष्णु पोखरेल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षक नवराज सुवेदीले गरेका थिए । जाडोमा न्यानो ओड्ने कम्बल पाउँदा स्थानीय विपन्न परिवारमा खुशियाली छाएको छ ।