प्रतिकात्मक तस्बिर ।
हरिवन – बनाईरहेको तातो रक्सी (घरेलु मदिरा) ले पोल्दा सर्लाहीको हरिवनमा एक बालकको मृत्यु भएको छ भने आमा घाईते भएकी छिन् ।
हरिवन नगरपालिका–८ बेताली टोलामा उक्त घटना भएको हो । स्थानीय मैया गुर्मछानका डेढ वर्षीय छोरालाई भर्खर निकालेको रक्सीले शनिबार साँझ पोलेको थियो । भर्खर बाहनबाट निकालेको तातो रक्सीको भाँडोमा परेपछि सख्त घाईते भएका बालकको उपचारका लागि काठमाडौं लैंजादै गर्दा बाटैमा मृत्यु भएको छ ।
स्थानीयका अनुसार आफ्नै घरमा मदिरा बनाउने क्रममा आमा केहीबेरका लागि घर बाहिर निस्केको समयमा छेउमै रहेका बालक तातो रक्सी राखिएको भाँडोमा परेका थिए । आमाले हत्तपत्त चिसो पानीमा डुबाएको र हरिवन स्थित नमूना अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि काठमाडौं लैजादै गर्दा राती नै दक्षिणकाली पुगेपछि ती बालकको मृत्यु भएको छ । पोलेर गम्भिर घाईते भएका छोरालाई जोगाउने क्रममा आमा मैया गुर्मछानको पनि हातमा तातो रक्सीले पोलेको छ । गुर्मछानको हातमा समेत रक्सीले पोल्दा ठूलो घाउ बनेको छ ।
बालकका बुवा वैदेशिक रोजगारीमा छन् । सर्लाहीको उत्तरी चुरे क्षेत्रमा घर–घरमै घरेलु मदिरा बनाएर हरिवन बजार सहित सदरमुकाम मलंगवा लगायत दक्षिणी क्षेत्रका बजारहरुमा महिलाहरुले बिक्री गर्ने गर्दछन् ।