हरिवन – हरिवन नगरपालिका कार्यालयले कोरोना भाईरस विरुद्ध खोज र खोप अभियान संचालनमा ल्याएको छ । सर्लाहीका अन्य पालिकाहरुमा पालिकाबासीलाई कोरोना भाईरस विरुद्धको खोप दिनका लागि अत्यन्त गोप्य राखिएपनि हरिवन नगरपालिकामा भने खोज र खोप अभियान नै संचालन गरेर नागरिकलाई खोपको पूर्ण मात्र दिन सूरु गरिएको हो ।
हरिवन नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीहरुले खोज र खोप अभियान अन्तर्गत शुक्रबार र शनिबार गरेर हरिवन नगरपालिकाको वडा नम्बर ३ र ४ मा घर–घरमै पुगेर सर्बसाधारणलाई कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । ईलाका हेल्थपोष्ट सासापुरका प्रमुख श्यामविनोद कुशवाहाले शुक्रबार र शनिबार दिनभर हरिवन नगरपालिका वडा नम्बर ३ र ४ का सर्बसाधारणलाई घर-घरमै पुगेर कोरोना भाईरस विरुद्धको खोप लगाईएको जानकारी दिए ।
‘अन्य पालिकामा के छ थाहा छैन’, ईलाका हेल्थपोष्ट सासापुरका प्रमुख कुशवाहाले उज्यालो अभियानसँग भने, ‘तर हाँमीले भने वडाका घर-घरमा पुगेर सर्बसाधारणहरुलाई खोजेरै कोरोना भाईरस विरुद्धको खोप लगाईरहेका छौं ।’
कुशवाहाका अनुसार शुक्रबार वडा नम्बर ३ र ४ का ४० जनालाई कोभिशिल्ड तथा ९० जनालाई भेरोशिल र ५५ जनालाई जोनसन खोप लगाईएको छ । त्यस्तै शनिबार ८५ जना सर्बसाधारण र सशस्त्र प्रहरी बलका ४२ जनालाई खोप लगाईएको कुशवाहाले जानकारी दिए । कुशवाहाका अनुसार गाउँ–गाउँमा छुट भएका सर्बसाधारणहरुलाई पहिलो तथा पहिलो डोज दिएका सर्बसाधारणलाई दोस्रो डोज खोप दिईएको हो । त्यस्तै आकस्मिक रुपमा विदेश जानुपर्ने सर्बसाधारणलाई भने जोनसोनको खोप समेत दिईएको छ ।
हरिवन नगरपालिका कोरोना फोकल पर्सन रामबाबु चौधरीले हालसम्म हरिवन नगरपालिकाका ७४ प्रतिशत जनसंख्यालाई दोस्रो डोज खोप दिईसकिएको छ । ५० हजार ३८६ जनसंख्या मध्ये ७४ प्रतिशत जनसंख्यामा कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप समेत दिईसकिएको चौधरीले दाबी गरे । हाल छुट भएका सर्बसाधारणलाई खोज र खोप अभियान चलिरहेको दाबी गर्दै चौधरीले आईतबारबाट कोरोना भाईरस विरुद्धको बुस्टर डोज खोप समेत चलाईने छ ।
जिल्ला स्थित अन्य पालिकाहरुमा भने कोरोना भाईरस विरुद्धको खोप बारेमा नै केही थाहा हुने गरेको छैन । ती पालिकाहरुमा हालसम्म कतिजनालाई कोरोना भाईरस विरुद्धको खोप दिईयो र अब कतिजनालाई दिईने हो लगायत बारेमा समेत केही थाहा हुने गरेको छैन ।
फोटो क्याप्सन : हरिवन नगरपालिका वडा नम्बर ४ को पटौनामा सर्बसाधारणलाई कोरोना भाईरस विरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । (तस्बिर : उज्यालो अभियान)