logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा अझै आएन कोरोना विरुद्धको ‘बुस्टर’ डोज खोप


  • उज्यालो अभियान

मलंगवा – सरकारले मुलुकभर गत माघ २ गतेबाट कोरोना भाईरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाउन सूर गरेपनि सर्लाहीमा भने उक्त खोप मंगलबार सम्म पनि आईपुगेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय एवं जिल्ला अस्पतालका प्रमुख डा. नवलकिशोर झाले बुस्टर डोज खोप सर्लाहीमा आईनसकेको उज्यालो अभियानलाई जानकारी दिए । ‘प्रदेशबाट आउनुपर्ने खोपहरु अहिलेसम्म आईसकेको छैन’, मंगलबार दिउँसो उज्यालो अभियानसँग भने, ‘आउने वितिकै हाँमी खोप लगाउन सूरु गरिहाल्छौं ।’

सरकारले गत माघ २ गतेबाट ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय मार्फत मुलुकभर बुस्टर डोज खोप लगाउने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो ।

सोही अनुसार गत आइतबारदेखि पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुले बुस्टर डोज पाउनु पर्ने हो । तर सर्लाहीमा भने खोप नै नआएपछि बुस्टर डोज खोप कार्यक्रम सूरु नै हुन सकेको छैन ।

यसैगरी दोस्रो चरणमा आगामी माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।

क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर डोज दिने तयारी छ ।

बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ ।