logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चिसाे बढ्याे : जनजिवन कष्टकर


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा कठ्यांग्रिने गरी चिसो हुँदा जनजीवन निकै कष्टकर बनेको छ । साेमबारदेखि जिल्लामा घाम समेत लागेकाे छैन ।

सर्वसाधारणले साेमबारयता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन् । सर्लाहीमा सोमबार दिनभर घाम लागेन् । मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शितलहर सहित निरन्तर चिसो स्याँठ चलिरहेकाे छ । यस क्षेत्रमा आइतबारदेखि चिसो अत्यधिक बढ्न थालेको हो ।

आइतबार दिउँसोपख केही समय घाम लागेपनि सोमबार दिनभर बाक्लो हुस्सु लागेरै दिन बित्यो । कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरु र न्यानो कपडा नभएका बनिबुतो गरेर खाने अतिविपन्न परिवारलाई धेरै गाह्रो पारेको छ ।

चिसो छल्न धेरैले अहिले घर तथा चौक बजारमा आगो तापेर बसिरहेका विभिन्न स्थानमा रहेका हाम्रा संवाददाताहरुले जनाएका छन् । चिसो स्याँठले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुलाई समस्या भएको छ ।

यही चिसोमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता स्वास्थ्य समस्या भएका बिरामी बढेका छन् । चिकित्सकहरुले चिसोबाट जोगिन शरीर न्यानो हुने गरी ताता कपडा लगाउन, अत्यावश्यक काम पर्दा बाहेक स्याँठ चलेको बेला बाहिर ननिस्कन, निस्कँदा पनि शरीरमा हावा पस्न नपाउने गरी कपडा लगाउन, आगो ताप्न, आगो ताप्दा पनि शरीरमा सल्किएर अर्को दुर्घटना हुने भएकाले ख्याल गर्न, झोलिला र ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।
   
त्यस्तै, अत्यधिक रुपमा बढेको चिसोबाट पशुपालक किसानहरुलाई वस्तुभाउ जोगाउन पनि मुस्किल परेको छ ।