logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ट्याक्टर चालकको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीको दक्षिणी भेगमा पर्ने गोडैता नगरपालिकामा उखु लोड गरिएको ट्याक्टरबाट लडेर सोही ट्याक्टरका चालकको ज्यान गएको छ ।

गोडैता नगरपालिका–४, रोहुवामा भएको उक्त घटनामा रौतहटको बृन्दावन नगरपालिका ७ धमौरा घरभई हाल गोडैता नगरपालिका–५ स्थित आफ्नै फूफाजु अली अक्तर मंसुरको घरमा बसेर ट्याक्टर चलाउने काम गर्दै आइरहेका कमरुदिन मंसुरका छोरा १८ वर्षीय आसिर मंसुरको ज्यान गएको हो । उखु लोड गरिएको ना. ७ त ५६८ नम्वरको ट्याक्टरबाट अचानक लडेर घाइते भएका मंसुरलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ ल्याउने क्रममा बाटोमा नै ज्यान गएको परिवारलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय गडहीयाले जनाएको छ ।

घटना आइतबार मध्यराततिरैको भएपनि प्रहरीमा भने सोमबार मात्रै जानकारी आएको हो । मृतक मंसुरको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी सोमबार परिवारले बुझेर लगेका प्रहरीले जनाएको छ ।

सर्लाहीका किसानले अहिले उखु काटेर धमाधम चिनी मिलमा पुर्याइरहेका छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग तथा भित्री सडकहरुमा उखु बोकेर हिँडेका टायरगाढा, ट्याक्टर र ट्रकको अत्यधिक चाप छ । ती सवारी साधनले क्षमता भन्दा पनि धेरै नै उखु बोकेर हिँड्ने गरेकाले उखु बोकेका गाडी नजिक पुग्दा सावधानीपूर्वक यात्रा गर्न र चालकहरुले पनि सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।