logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा आज पनि माओवादीको बन्दसत्र


  • उज्यालो अभियान

लालबन्दी – नेकपा माओवादी केन्द्र प्रदेश २ ले शनिबार सर्लाहीको लालबन्दीमा आयोजना गरेको बन्दसत्र स्थगित गरिएको छ ।

पार्टीको प्रथम प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार लालबन्दीस्थित लालबन्दी पार्टी प्यालेसमा बन्दसत्रको कार्यक्रम राखिएको थियो । माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले आइतबार बिहान ११ बजेपछि पुनः बन्दसत्र सुरु हुने जानकारी दिए ।

केही जिल्लाहरुबाट तोकिएको भन्दा बढी प्रतिनिधि छनौट भएर आएकाले बन्दसत्रमा विवाद भएको बुझिएको छ । यस्तै, सिरहामा समानान्तर कमिटी गठन भएको, वीरगञ्जबाट प्रतिनिधिहरुको नामावली नै प्राप्त नभएको, सप्तरीका केही पालिकामा पालिका अधिवेशन नै नभएको जस्ता समस्या देखिएका छन् ।

यि समस्याहरु समाधान गर्न लालबन्दीमा अहिले पनि नेताहरुको बैठक बसिरहेको छ । प्रदेश अध्यक्ष बुढाथोकीले बैठकबाट समस्या समाधान गरी प्रदेश कमिटीको नामावली समेत तयार पारिने र आइतबार बन्द सत्रमा घोषणा गरिने जानकारी दिए ।

बन्दसत्रले नौ पदाधिकारीसहित २७१ सदस्यीय प्रदेश कमिटी र करिव १२० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने पार्टीका प्रदेश अध्यक्ष बुढाथोकीले बताए । प्रदेश अधिवेशनको उद्घाटन सत्र मङ्सिर २५ गते प्रदेश राजधानी जनकपुरमा सम्पन्न भएको थियो ।

माओवादी केन्द्रको प्रदेश नेतृत्वमा हालका अध्यक्ष प्रह्लाद बुढाथोकी, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह, नेता रामकुमार शर्मा लगायत आकांक्षी रहेका छन् । प्रदेश अधिवेशनको सम्मेलनमा सहभागी हुन आठवटै जिल्लाबाट माओवादी केन्द्रका नेता कार्यकर्ताहरु आएकाले लालबन्दीमा चहलपहल निकै बढेको छ ।