बागमती – सर्लाहीको बागमतीस्थित महेन्द्र जनता प्राविधिक शिक्षालयमा सिभिल ईन्जिनियरिङ पढ्ने छात्रछात्राहरुलाई मंगलबार स्वागत तथा सम्मान गरिएको छ ।
बागमती नगरपालिका–११, कर्मैयास्थित श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालयले एक कार्यक्रमकाबीच पहिलो बर्षको लागि भर्ना हुन आएका छात्रछात्राहरुलाई स्वागत तथा तेस्रो बर्षमा अध्यनरत उत्कृष्ट नम्बर ल्याउने छात्रछात्राहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा प्रथम सेमेस्टरमा प्रदेशमै उत्कृष्ट अंक ८९.५७ प्रतिशत ल्याउन सफल छात्र अरविन्द कुमार दास, ८५ अंक ल्याउने सुमित्रा मोक्तान, ८३ प्रतिशत ल्याउने सुमीकुमारी मण्डल लगायत १६ जना छात्रछात्रा रहेका विद्यालयले जनाएको हो ।
यस्तै, तेस्रो सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने उमाशंकर महतो, रितेश सहनी, धिरेन्द्र यादव सहित १३ जना छात्रछात्रालाई सम्मान सहित पुरस्कार वितरण गरिएको हो । यसैबीच सो प्राविधिकि शिक्षालयबाट संचालन भएको ३९० घण्टे बिल्डिङ ईलेक्ट्रिसिएन, प्लम्बर र मेसन तालिममा सहभागी ५६ जनालाई समेत मंगलबार प्रमाण पत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
यस विद्यालयले विगत तिन बर्ष देखी प्राविधिक शिक्षा तर्फ सिभिल ईन्जिनियरिङको अध्ययन सुरु गरेको हो । बागमती नगरपालिका शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता रहेको समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनश्याम थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।