हरिवन – सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले सोमबार डोंगा पूजा गरेको छ ।
चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि सोमबार डोंगा पूजा गरेर साईत जुराईएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । बिहान १० बजेर ५१ मिनेटको साईतमा डोंगा पूजा गरिएको हो ।
उधोगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकका अनुसार आगामी पुसको दोस्रो साताबट उखु क्रसिङ्ग सुरु गरिने छ । पछिल्लो समय सर्लाहीका किसानले ढिलो तयार हुने जातको उखु रोपेका कारण बिगतका बर्ष भन्दा ढिलै क्रसिङ्ग हुने बताए ।
यस बर्ष अत्याधिक बर्षा भएकाले उखु उत्पादनमा पनि कमी आउने अनुमान गरिएको प्रबन्धक रजकले बताए । उधोगले गतवर्ष २२ लाख १० क्विन्टल उखु क्रसिङ गरेको थियो, यसवर्ष भने ३० लाख क्विन्टल उखु पेल्ने लक्ष्य राखेको छ ।
गतबर्ष सरकारले उखुको प्रतिक्विन्टल मुल्य ५३६ रुपियाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले ४७१ रुपियाँ २८ पैसा र सरकारले अनुदान स्वरुप ६५ रुपियाँ २८ पैसा भुक्तानी गरेको थियो ।