logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन नगरपालिकाले किसानको बालीनालीमा पुगेको क्षतिको विवरण लिने


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले अविरल वर्षाले विभिन्न बालीनालीमा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ ।

नगरपालिका कार्यालयले वुधवार एक सूचना निकालेर गएको आइतवारदेखि भइरहेको वर्षाका कारण नगरभित्र विभिन्न बालीनालीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्ने जानकारी गराएको हो । नगरपालिकाले किसानहरुलाई यही कात्तिक ७ गतेभित्र नगरपालिकाको कृषि शाखामा आएर आ–आफ्नो खेतबारीमा भएको क्षतिको विवरणसहितको निवेदन दिन आग्रह गरेको छ ।

हरिवन नगरपालिकाको कृषि शाखाकी प्राविधिक नवीना दाहालले धान लगायत अन्य बालीमा पुगेको क्षतिको विवरण लिन लागिएको जानकारी दिईन् । उनका अनुसार हरिवन नगरपालिकाभित्र करिव ७० हेक्टर जग्गामा धान खेती हुन्छ ।

अहिलेको वर्षाले काटेर खेतमै सुकाएको करिव १५ प्रतिसतजति धानमा क्षति पुगेको अनुमान गरिएको कृषि प्राविधिक दाहालले बताईन् । बाँकी धान काँट्न बाँकी नै रहेको छ ।

हरिवन क्षेत्रमा फड्के कीराले समेत धान बालीमा धेरै क्षति गरेकाले विवरण सङ्कलन गर्दा त्यसबाट भएको क्षतिको विवरण समेत लिइने नगरपालिकाको कृषि शाखाले जनाएको छ । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले अहिले क्षतिको विवरण लिने र पछि राहतका विषयमा समन्वय तथा पहल गरिने बताएका छन् ।