logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दशौँ कोरियन एम्बासडर तेक्वान्दोमा सर्लाहीका दर्नाललाई दोस्रो उपाधि


  • उज्यालो अभियान

मूर्तिया – सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाका प्रेम कुमार दर्नाल दशौँ कोरियन एम्बासडर तेक्वान्दोमा दोस्रो हुन सफल भएका छन् ।

दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो सङ्घले आयोजना गरेको १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से च्याम्पियनसिपको ३६ देखि ५० वर्ष उमेर समूहमा ५ दशमलव ९३ अङ्क प्राप्त गर्दै दर्नाल दोस्रो भएका हुन् । हाल साउदी अरेबियामा रहेका दर्नाल त्यहीँबाट भर्चुअल माध्यमबाट प्रतियोगितामा सहभागी भई दोस्रो हुन सफल भएका हुन् ।

दर्नालले दैनिक १३/१४ घण्टा गाडी चलाएर पनि आफूले तेक्वान्दोको अभ्यास गर्दै आइरहेको र भर्चुअल माध्यमबाट प्रतिस्पर्धामा सहभागी भएको उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँगको टेलिफोन कुराकानीमा बताए । उनले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा हालसम्म ३ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरेका छन् ।

दर्नाल नेपाल तेक्वान्दो सङ्घ अन्तर्गत बरहथवा तेक्वान्दो डोजाङका वरिष्ठ प्रशिक्षक चेतबहादुर ठकुरीको प्रथम ब्याजका सिनियर ब्ल्याक बेल्ट खेलाडी हुन् । नेपाल तेक्वान्दो सङ्घ सर्लाहीका वरिष्ठ सल्लाहकार एवं सासापुर डोजाङका प्रशिक्षक पूर्ण बहादुर राना मगर, सङ्घका जिल्ला कोषाध्यक्ष एवं नवलपुर डोजाङका प्रमुख दीपक श्रेष्ठ लगायतले वैदेशिक रोजगारीमा पसिना बगाएर पनि दर्नालले हाँसिल गरेको उपाधि समग्र खेल क्षेत्र र खेलाडीका लागि प्रेरणादायी रहेको बताएका छन् ।