logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महिलाहरुले पोखरी संरक्षण गरेर पालेको १० क्विन्टल माछा मरे


  • उज्यालो अभियान

सुखेपोखरी – हरिवन नगरपालिका–९, सुखेपोखरीमा महिला समूहले पालेको करिव १० क्विन्टल माछा मरेका छन् ।

जय सन्तोषि माँ महिला समूहले सार्वजनिक पोखरी संरक्षण गरेर पोहोर सालदेखि पालेको माछा मरेका हुन् । सुक्रवार साँझसम्म जिवित रहेका माछा शनिवार बिहान मरेको अवस्थामा भेटिएका महिला समूहकी सचिव पवन कुमारी शर्मा (रेग्मी) ले उज्यालो अभियानलाई जानकारी दिईन् । उनले अचानक पोखरीका सबै माछा मर्नुको कारण खुल्न नसकेको बताईन् ।

माछा मरेपछि समूहमा आवद्ध महिलाहरु चिन्तित बनेका छन् । पोखरीमा रहेका पाँच लाख बढीको माछा मरेको समूहकी सचिव रेग्मीले बताएकी छिन् ।

हरिवन–९, का वडाध्यक्ष सीताराम पोखरेलले भुरादेखि चार÷पाँच किलोसम्मको माछा मरेको बताए । माछापालनका लागि भुरा, आहारा र औषधि समेत गरी झण्डै दुई लाख बढी खर्च भएको महिला समूहले जनाएको छ ।

महिलाहरुले वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर बेवारिसे अवस्थामा रहेको पोखरीको सरसफाई एवं संरक्षण गरी छेउछाउमा फूल खेतीसँगै माछापालन गरेका थिए । १४ कठ्ठामा फैलिएको सो पोखरीमा १० कठ्ठाजति भागमा पानी रहेको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनले माछा मर्नुको कारण पत्ता लगाउन पोखरीमा रहेको पानीको नमूना सङ्कलन गरिएको र सो पानी परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला, काठमाण्डौं पठाइने जनाएको छ ।