हरिपूर्वा – जिल्लाको दक्षिण–पूर्वी बेल्टस्थित हरिपूर्वामा सडक किनारमा वृक्षारोपण गर्न सुरु गरिएको छ ।
हरिपूर्वादेखि जिंगड्वासम्म जाने सडकका दायाँबायाँ शनिवारदेखि विरुवा रोप्न थालिएको हो । त्यहाँ कालोपत्रे गरिएको सडकको छेउमा २५० वटा अशोकको विरुवा रोप्ने लक्ष्य रहेको छ ।
शनिवार बिहान नगर प्रमुख शियाराम राय, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देव, हरिपूर्वा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिजय यादव लगायतको उपस्थितिमा वृक्षारोपण कार्यको शुभारम्भ गरिएको हरिपूर्वाका स्थानीय संचारकर्मी मुकेश झाले बताए ।
वृक्षारोपणका लागि डिभिजन वन कार्यालयले विरुवा उपलब्ध गराएको हो भने नगरपालिकाले फलामको बेराघेरा तयार पारेको छ ।
सर्लाहीमा उत्तरी भेगको तुलानामा दक्षिणी क्षेत्रमा निकै कम मात्रामा वृक्षारोपण हुने गरेको छ ।