logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन नगरपालिकाले बाँड्यो बाख्रा र हाते ट्याक्टर


  • उज्यालो अभियान

हरिवन – हरिवन नगरपालिका कार्यालयले शनिबार अति विपन्न परिवारलाई बाख्रा तथा एक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ ।

हरिवन नगरपालिका–८ चापिनी स्थित तामाङ टोलका ३० घरधुरीलाई एक–एकवटा बाख्रा वितरण गरिएको उपमेयर रेणुका पौडेलले जानकारी दिईन् । अतिविपन्न परिवारको आर्थिक उन्नतीमा थोरै भएपनि टेवा पुगोस् भनेर बाख्रा वितरण गरिएको र बाख्रा पाउने परिवारले पछि एक–एकवटा बाख्रा फिर्ता गर्नुपर्ने समेत उमेयर पौडेलले बताईन् । उपमेयर पौडेलका अनुसार नौलो बिहानी महिला समुह मार्फत जीविकोपार्जन कार्यक्रम अन्तर्गत विपन्न परिवारका महिलाहरुलाई बाख्रा वितरण गरिएको हो ।

त्यस्तै हरिओन नगरपालिका–८ स्थित बाली संरक्षण समुहलाइ हरिवन नगरपालिकाले १ थान हाते ट्याक्टर उपलब्ध गराएको छ । समुहमार्फत त्यस क्षेत्रका किसानलाई आफैले खेतबारी जोत्नका लागि तथा टेलर जोडेर कृषिजन्य सामग्री ओसारपसारमा सघाउ पुगोस् भनेर हाते ट्याक्टर वितरण गरिएको उपमेयर पौडेलले जानकारी दिईन् । बाख्रा एवं हाते ट्याक्टर आफ्नै पहलमा नगरपालिकाको बजेटबाट वितरण भएको उपमेयर पौडेलको भनाई थियो ।

हरिवन नगरका मेयर गणेशप्रसाद प्रसाईंको प्रमुख आतिथ्यता एवं उपमेयर पौडेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष यज्ञबिनोद ढुंगेल, भरतकुमार कार्की, राम प्रसाद घिमिरे, शुशिला कार्की, रविन्द्र भट्टराई, ङमेन्द्र घिमिरे, कुलचन्द्र बराल लगायतको उपस्थिती रहेको बताईएको छ ।