प्रतिकात्मक तस्बिर ।
लालबन्दी – सर्लाहीको लालबन्दी र नवलपुर बजारमा हिजो (आइतवार) मलखाद बिक्री गर्ने पसलको अनुगमन गर्न खोज्दा व्यापारीहरुले पूरै बजार बन्द गरेका छन् ।
ईलाका प्रशासन कार्यालय हरिवनले आइतवार अपरान्ह ईलाका प्रहरी कार्यालय लालबन्दीसँग समन्वय गरी लालबन्दी र नवलपुर बजारमा रहेका एग्रोभेट, बीउ बिजन र मलखाद बिक्री गर्ने पसल अनुगमन गर्न खोज्यो ।
मलमा कालोबजारी गरेको गोप्य सूचना प्राप्त भएको आधारमा अनुगमन टोली लालबन्दी बजारस्थित एक एग्रोभेट पसलमा अनुगमनका लागि पुग्नासाथ बजारका अन्य पसल बन्द गरेर व्यापारीहरु फरार भए ।
ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्य दाहालले आफूहरु एउटा पसलमा अनुगमन गर्न पुग्नासाथ बजारका अन्य व्यापारीहरु आ-आफ्नो पसलको सर्टर झारेर हिँडेका उज्यालो अभियानसँग बताए ।
ईलाका प्रशासन कार्यालयका प्रमुख दाहाल, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख निर्मल थापालगायतको अनुगमन टोलीले अनुगमन गरेको एउटा मात्रै एग्रोभेट पसलमा २२ सय रुपैयाँमा बेच्नु पर्ने डीएपी खाद २५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको छ । उक्त पसलका संचालकले किसानलाई मल किन्दा सरकारले दिएको अनुदान आफै खाएर उल्टै बढी पैसा लिएर मल बिक्री गरिरहेको भेटिएको ईलाका प्रशासन कार्यालयका प्रमुख दाहालले उज्यालोकर्मी जनार्जन खत्रीसँग बताए ।
आफू अनुगमनका लागि हरिवनबाट लालबन्दी आउने क्रममा नवलपुर बजारका पसल व्यवसाय खुलेका देखेपनि पछि अनुगमनमा जाँदा सबै पसलहरु बन्द गरिसकेको पाइएको दाहालले जानकारी दिए ।
किसानले मल नपाएको र पाएको मलमा पनि कालोबजारी भएकाले बढी मूल्य तिर्नु परेको गुनासो गर्न थालेपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ ।
मलमा कालोबजारी गरेको पाइएपछि केही दिनअघि बागमती नगरपालिका-४, जिरायतमा रहेको एक पसललाई दण्ड जरिवाना तिराइएको थियो । सर्लाहीका किसानलाई अहिले मकै र उखुमा हाल्नका लागि खादको आवश्यक परिरहेको छ ।