प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई पत्र बुझाउँदै हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजा ।
हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले किसानलाई आवश्यक पर्नेजति मल उपलब्ध गराइदिन प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेको छ ।
नगर प्रमुख गणेश प्रसाद प्रसाईले आज (सुक्रवार) प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई पत्र लेख्दै आवश्यकता अनुसार मलको बन्दोबस्त गरिदिन माग गरेका हुन् । नगरपालिकाले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा अहिले मकै र उखु बालीमा मलखाद हाल्ने समय भएपनि किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको उल्लेख गरिएको छ ।
नगर प्रमुख प्रसाईले लेखेको पत्रमा भनिएको छ ‘यस नगरपालिकाले अनुदानको मलखाद वितरण प्रणालीलाई व्यवस्थित गर्न ११ वटै वडामा मलखाद डिलरको अनुमति दिई वडाध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष अनुगमनमा मलखाद वितरणको व्यवस्था मिलाएको अवस्था छ तर कृषि सामग्री कम्पनि लिमिटेड नवलपुर सर्लाहीबाट यस नगपालिकालाई आवश्यक युरिया २० हजार बोरा उपलब्ध नगराइ दिँदा मलखाद वितरण प्रणालीनै प्रभावित भइरहेको हुँदा उक्त परिमाणको मलखाद तीन पटक गरी २०७८ असार १५ भित्रमा कृषि सामग्री कम्पनि लिमिटेड शाखा कार्यालय नवलपुरबाट उपलब्ध गराइदिनुहुन वा कृषि सामग्री कम्पनि लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जबाट उपलब्ध गराइदिने व्यवस्था मिलाइदिन हुन अनुरोध छ ।’
अहिले मलखाद हाल्ने बेला भएको उखु र मकै खेती धेरै रहेको आफूहरुको क्षेत्र र केही समयपछि धान रोपाइँ हुने दक्षिणी भेगमा दामासाही हिसाबले मल बाँड्दा आफूहरुको क्षेत्रमा धेरै किसानले मल नपाएको भन्ने गुनासो अत्यधिक मात्रामा आएपछि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको नगर प्रमुख प्रसाईले उज्यालो अभियानसँग बताए ।
हरिवनका विभिन्न वडाका वडाध्यक्षहरुले पनि सुक्रवार नै यसबारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । आफूहरुको पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले पर्याप्त मल उपलब्ध गराउन तत्काल पहल गर्ने आश्वासन दिनुभएको हरिवन नगरपालिका-११ का वडाध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिए ।
सर्लाही जिल्लाभरकै किसानले अहिले भनेजति मल पाउन सकेका छैनन् । मल वितरण गर्ने विभिन्न सहकारीमा किसानहरुको भीड लाग्ने गरेको छ ।
सहकारीबाट मल नपाएपछि किसानहरु बढी मूल्य तिरेर अवैध किसिमले भित्रिएको मल खरिद गर्न बाध्य भइरहेका छन् ।