logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीले पायो उपप्रधान सहित दुई मन्त्री


  • उज्यालो अभियान

हरिवन – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा सर्लाहीका दुईजना नेता परेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा सर्लाही चन्द्रनगर गाउँपालिका अन्तर्गत बबरगंज मूल घर भएका जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षीय संसदीय दलका नेता राजेन्द्र महतो उपप्रधान एवं शहरी विकास मन्त्री भएका छन । यसअघि ४ पटक मन्त्री भईसकेका महतोले यो पटक भने उपप्रधानमन्त्री समेत हात पारेका छन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको २०६३ सालको सरकारमा महतो पहिलो पटक उद्योग वाणिज्य तथा आपर्तिमन्त्री बनेका थिए । त्यसपछि हरेक पटक सत्तामा जाँदा सोही मन्त्रालय सम्हालेका महतो पछिल्लो पटक बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए । यो पटक उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्री बनेका छन् ।

२०४६ सालबाट राजनीति सूरु गरेका ६३ वर्षीय महतो २०५६ सालको संसदीय निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट राप्रपाका अध्यक्ष सूर्यबहादुर थापालाई पराजित गर्दै प्रतिनिधी सभा सदस्यको रुपमा निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नं. ४ बाट निर्वाचित भएका महतो २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने सोही निर्वाचन क्षेत्रमा हाल जनता समाजवादी पार्टीमा संगै रहेका तत्कालिन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायसँग पराजित भएका थिए ।

२०७० मा पराजित भएपछि २०७४ सालको निर्वाचनमा भने महतो धनुषा जिल्लाको क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्दै संघीय सांसद् भएका हुन् । महतोको ईश्वरपुर नगरपालिका एवं काठमाडौंमा पनि घर रहेको छ । उनका दाजु महेन्द्र महतो चन्द्रनगर गाउँपालिकाका अध्यक्ष हुन् भने भतिजा उपेन्द्र महतो सर्लाही क्षेत्र नं. १ क प्रदेश सभा सदस्य हुन् ।

त्यस्तै जनता समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी पनि शुक्रबारको मन्त्रिपरिषद् पुनर्गठनमा क्याबिनेट मन्त्री बनेकी छिन् । सर्लाहीको कौडेना गाउँपालिका तथा हरिवन नगरपालिकामा समेत घर भएकी ४७ वर्षीया चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

उनी यसअघि तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक संविधान सभासद् बन्दा माधव नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद सहायक मन्त्री बनेकी थिईन् । पछिल्लो पटक भने उनी राजपाबाट समानुपातिक सांसद् भएकी हुन् ।

सर्लाही निवासी दुईजना मन्त्री भएपछि विकास निर्माणमा उल्लेख्य काम हुने आशाका साथ जिल्लाबासी हर्षित बनेका छन् ।