logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

माओवादी युवा नेता कुशवाहालाई पनि लग्यो कोरोनाले, कोरोनाबाट मृत्यु हुने ६० जना पुगे


  • उज्यालो अभियान

रामचन्द्र कुशवाहा ।

हरिवन – नेकपा माओवादी केन्द्र सर्लाहीका युवा नेता रामचन्द्र कुशवाहाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ ।

हरिवन नगरपालिका–३, डाबरी ढापटोल निवासी करिब ४२ वर्षीय कुशवाहाको काठमाडौं स्थित टिचिङ अस्पतालमा भेण्टीलेटरमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको हो । माओवादी भातृ संस्था मधेशी मुक्ति मोर्चा सर्लाहीका अध्यक्ष समेत रहेका कुशवाहा भेटनरी प्राविधिक समेत हुन् ।

आईतबार राती साँढे ९ बजे कुशवाहाको मृत्यु भएको माओवादी केन्द्र सर्लाहीका अध्यक्ष कमल बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार सोमबार उनको शव हरिवनतर्फ ल्याउन प्रयास भईरहेको छ ।

कोरोना भाईरसका कारण तीन साता अघि स्वास्थ्यमा निकै समस्या देखिएपछि कुशवाहालाई भरतपुर लगिएको थियो । त्यहाँ पनि स्वास्थ्य अवस्था थप गम्भिर हुँदै गएपछि उनलाई काठमाडौं स्थित टिचिङ अस्पतालमा आईसीयू हुँदै भेण्टीलेटरमै राखेर उपचार गर्दा गर्दै मृत्यु भएको हो । केही दिनअघि नेकपा एमालेका नेता एवं शिक्षासेवी मलंगवा निवासी रघुनाथ चौधरीको समेत कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको थियो ।

कुशवाहाको मृत्युले कम्युनिष्ट आन्दोलन एवं अभियानमा ठूलो क्षति पुगेको भन्दै माओवादी अध्यक्ष बुढाथोकीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । माओवादी हरिवनका ईन्चार्ज ईन्द्र पाठक लगायत अन्य नेताहरुले पनि सामाजिक संजालमा स्व. कुशवाहाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । स्व. कुशवाहा राजनीतिक कृयाकलापका अतिरिक्त सामाजिक अभियानमा समेत अहोरात्र लागि पर्ने व्यक्तित्वको रुपमा परिचित थिए । कुशवाहाको मृत्युप्रति माओवादी मात्र हैन नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायत अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत गहिरो समवेदना व्यक्त गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवाले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म सर्लाहीका एकहजार ५०० जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । त्यस्तै कुशवाहा बाहेक ५९ जनाको मृत्यु भईसकेको छ । ३०० जना संक्रमित भने निको भईसकेका छन् ।