logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सांसद सिंह माओवादीमा प्रवेश गरेको ‘हल्ला’ ले ४ नम्वर क्षेत्रमा तरंग


  • उज्यालो अभियान

सांसद डा. अमरेश कुमार सिंह

धनकौल – नेपाली काँग्रेसका नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै यतिबेला ४ नम्वर क्षेत्र र जिल्लाभर व्यापक चर्चा छ ।

काँग्रेस नेता सिंह धनकौल गाउँपालिकास्थित हरकठवामा घर रहेको माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवं त्यस क्षेत्रका प्रभावशाली नेता मानिने फकिरा महतो कहाँ पुगेर भेटघाट गरेको फोटो सामाजिक सञ्जालमा सार्बजनिक भएपछि सिंह पार्टी प्रवेश गरेको भन्दै हल्ला चल्दा राजनीतिक क्षेत्रमा तरंग पैदा भएको हो ।

तर सांसद सिंहले भने सोमवार साँझ उज्यालो अभियानसँग कुरा गर्दै आफूविरुद्ध काँग्रेसकै केही नेताहरुले झेल गरेर निराधार हल्ला फिजाएका आरोप लगाए । उनले आफू आफ्ना निर्वाचन क्षेत्रका सबै नागरिकको घरमा पुग्ने क्रममा माओवादी नेता महतोको घरमा पुगेको र यसलाई आश्चर्यजनक ढंगले नलिन आग्रह गरेका छन् ।

माओवादी नेता फकिरा र अन्य केही नेताहरुले आफू त्यहाँ पुग्दा फूलमाला लगाएर स्वागत गर्नुभएको सिंहको भनाई छ । आफ्नो राजनीतिक पहुँच केन्द्रमै रहेको भन्दै नेता सिंहले पार्टी प्रवेश गरे बरु प्रचण्डबाटै गर्छु, जिल्ला कमिटी सदस्यबाट किन गर्नुप¥र्यो ? भन्दै प्रश्न गरेका छन् ।

यता, काँग्रेस नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले भने सांसद डा. सिंहले विपक्षीको घर दैलोमा बसेर पार्टी कार्यकर्तामाथि धम्काउने काम गरेको आरोप लगाएका छन् । उज्यालो अभियानसँगको कुराकानीमा प्रदेश सभा सदस्य सिंहले कार्यकर्तालाई धम्काउने, मनोबल गिराउने र पार्टीलाई कमजोर पार्ने क्रियाकलापहरु तत्कालै बन्द गर्न चेतावनी समेत दिएका छन् ।

सर्लाहीको चारवटा निर्वाचन क्षेत्रमध्ये सदरमुकाम मलंगवाबाट पश्चिमतर्फ पर्ने क्षेत्र नं. ४ अलीबढी संवेदनशील र राजनीतिक खिच्चातानी भइरहने क्षेत्रको रुपमा परिचित छ । त्यस क्षेत्रमा एक दलका नेताले अर्को दलका नेतालाई देखिनसक्ने र साना–साना घटनालाई पनि राजनीतिक रंग दिने प्रचलन रहेको छ ।