हरिवनमा सम्पन्न ओली समूह निकट अनेमसंघको भेला । (तस्बीर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवनमा बिहिवार नेकपा एमालेको केपी ओली समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को प्रदेश २ स्तरीय भेला सम्पन्न भएको छ ।
भेलाबाट १७५ सदस्यीय प्रदेश कमिटी गठन गरी सपथ ग्रहण समेत सम्पन्न गरिएको ओली समूह निकट अनेमसंघ सर्लाहीकी संयोजक कल्पना कटुवालले जानकारी दिईन् । प्रदेश कमिटीमा जया घिमिरे संयोजक, रन्जु ठाकुर सह–संयोजक र प्रतिक्षा तिवारी सचिवलगायत अन्य सदस्य रहेका छन् ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि अनेमसंघकी केन्द्रीय संयोजक सीता पौडेलले बिहिवारनै सपथ ग्रहण गराएकी छिन् । बिहिवारको भेलालाई ओली समूहका नेता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटा, रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलगायतले सम्वोधन गरे ।
आगामी बैशाख ४ गते हरिवनमै हुने प्रदेश २ स्तरीय भेलाको तयारी स्वरुप बिहिवारको भेला गरिएको अनेमसंघ जिल्ला संयोजक कटुवालले बताईन् । बैशाख ४ को उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले हरिवनमा आई सम्वोधन गर्ने गरी तयारी अघि बढाइएको कटुवालको भनाई छ ।
वुधवारमात्रै हरिवनमै भेला गरेर एमालेको नेपाल–खनाल समूह निकट अनेमसंघको सर्लाही जिल्ला कमिटी गठन गरिएको थियो । एमालेभित्र अहिले ओली र नेपाल–खनाल समूहले सर्लाहीसहित देशभर नै एक अर्काविरुद्ध कमिटीहरु गठन गरिरहेका छन् ।