logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा उल्लासका साथ मनाइयो होली


  • उज्यालो अभियान

घुर्कौली बालगृहका बालबालिकाहरु प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली तथा मेयर गणेश प्रसाईलाई रंग लगाइदिँदै । (तस्बीर: उज्यालो अभियान)

मलंगवा – सर्लाहीसहित तराई मधेसका जिल्लाहरुमा सोमवार अत्यन्त हर्षोल्लासपूर्वक रंगहरुको पर्व होली मनाइएको छ ।

जिल्लाभर नै रौनकताका साथ यो पर्व मनाइएको हो । बालबालिका, युवा, पाका उमेरका सबै एक आपसमा रंग र अविर दलेर खुसी साटासाट गरी होली मनाएका छन् ।

उत्तरी भेगमा पर्ने लालबन्दी, हरिवन, बागमतीलगायतका क्षेत्रमा आइतवार र सोमवार दुई दिन यो पर्व मनाइएको छ । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने सोमवार एक दिन मात्रै यो पर्व मनाइएको छ ।

सोमवार राती अवेरसम्म सर्लाहीमा होली पर्व शान्तिपूर्ण देखिएको छ । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले सोमवार रातीसम्म पर्व मनाउने क्रममा जिल्लामा कुनै अप्रिय घटना नभएको र प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइनै रहेको उज्यालो अभियानसँग बताए ।

उनले हेल्मेट नलगाइ, मदिरा सेवन गरी र दुईजना भन्दा बढी चढेर चलाइएका ९५ वटा मोटरसाइकलहरु जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको बताए । असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ ।

यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको थियो । भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह गरेपनि सर्लाहीसहित देशभर नै होली मनाउनेहरुको जताततै भीडभाड देखिन्थ्यो ।

यो पर्वको अवसरमा सरकारले सोमवार तराईका जिल्लामा सार्वजनिक बिदा थियो । प्रदेश २ सरकारले आज (मंगलवार) पनि बिदा दिएको छ । यसअघि आइतवार नै काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा फागु पर्व मनाइएको थियो ।

यसैबीच, ईश्वरपुर नगरपालिकाका सक्रिय युवाहरुको आयोजनामा सोमवार ईश्वरपुर नगरपालिका–७, मा होली मिलन कार्यक्रम गरिएको छ । होली पर्वको शुभकामना आदानप्रदान गर्दै होली मिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, एमाले सर्लाहीका अध्यक्ष रेवती पन्त, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, काँगे्रसका क्षेत्रीय सभापति प्रमोद बराल, जसपाका क्षेत्रीय सभापति रामनरेश साह, किसान संघका केन्द्रीय सदस्य सन्तोष आचार्य, उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साह लगायतले मन्तव्य राखे ।