मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा जारी खुल्ला टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको छैठौं दिनको खेलमा सोमवार विजडम कोचिङ क्रिकेट टिम ९ विकेटले विजयी भएको छ ।
दुर्गा पुजा समिति जिल्ला विकास चोकले मलंगवा नगरपालिका–१० स्थित तिनबिघे मैदानमा आयोजना गरेको खेलमा ढाका बोर्डर क्रिकेट टिमलाई विजडमले ९ विकेटले हराएको आयोजक समिति सदस्य समिर मिकरानीले जानकारी दिएका छन् ।
टस जितेर व्याटिङ गरेका ढाका बोर्डरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । २९ रनमै ४ विकेट गुमाएको ढाका बोर्डरलाई सम्मान जनक स्कोर दिलाउन संजय सिंहले सर्वाधिक ३३ बलमा ४२ रन बनाए । उनले टिमलाई १ सय २५ सम्म पु¥याएका थिए ।
ढाका बोर्डरलाई १ सय २५ रनमै सिमित राख्ने क्रममा विजडमका नेहमत खानले ३ विकेट हात पारे । १ सय २५ रनको लक्ष्य पच्छयाएर मैदान उत्रिएको विजडमले ८.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
भारतीय खेलाडीले भरिएका विजडमले सुरुवातदेखि नै लगातार चौका छक्का प्रहार ग¥र्यो । विजडमका लागि रंजित कुमारले २५ बलमा ६६ रन बनाएर नट आउट रहे । रंजितले ६ छक्का र ७ चौका प्रहार गरे ।
ढाका बोर्डरका लागि एक मात्र विकेट रुपेश सिंहको नाममा रह्यो । सोमवारको खेलमा म्यान अफ द म्याच रंजित कुमारलाई प्रदान गरिएको छ । रंजितले ६६ रन जोड्नुका साथै २ विकेट समेत हात पारे । रंजितलाई आयोजक समितिका कोषाध्यक्ष साजन जयवालले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए ।
मंगलवारको खेल सर्लाही एकेडेमी मलंगवा र सिसौटिया क्रिकेट टिम हुने छ । यो प्रतियोगिताको विजेतालाई नगद रु एक लाख र उपविजेतालाई नगद रु ५० हजार प्रदान गरिने छ ।