बबरगंज – सर्लाहीको चन्द्रनगरमा गाउँपालिकाको केन्द्रबारेको विवाद थप जटिल बन्दै गएको छ ।
वडा नं. ६ र ७ का बाहेक १ देखि वडा नंं. ५ सम्मका स्थानीयले गाउँपालिकाको केन्द्र पायक पर्ने स्थानमा सार्न माग गर्दै बुधबार वडा नं. २ स्थित बबरगञ्जमा रहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोको घर घेराउ गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्षको घरअगाडि टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
ठूलो संख्यामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडलाई पन्छाएको छ । चन्द्रनगरमा रहेको गाउँपालिकाको केन्द्र सार्न नहुने मागसहित गाउँपालिका कार्यालयमा गत शुक्रवारदेखि नै धर्ना जारी छ । केन्द्र सार्न हुन्न भन्ने पक्ष र प्रहरीबीच शुक्रवार झडप समेत भएको थियो ।
वडा नंं. ६ र ७ का सबै तथा वडा नं. ४ का केही जनप्रतिनिधि, नेपाली कांग्रेसका नेता कार्यकर्ता र स्थानीय वासिन्दा गाउँपालिकाको केन्द्र वडा नं. ६ र ७ को संगम स्थलमा पर्ने नाढीताल परिसरमै रहन दिनुपर्ने मागसहित धर्नामा बसिरहेका हुन् । स्रोतका अनुसार वडा नम्बर ४, ६ र ७ का तत्कालिन नेकपा नेता कार्यकर्ताले समेत गाउँपालिकाको केन्द्र सार्ने कार्यको विरोधमा साथ दिईरहेको बताईएको छ । धर्नाका कारण शुक्रवारदेखि नै गाउँपालिकाको कामकाज ठप्प छ ।
गाउँपालिकाको केन्द्र सार्न गत शनिवार बबरगंजस्थित दुर्गा खोभारी माध्यमिक विद्यालयमा विशेष गाउँ सभाको बैठक बसेको थियो । तर बैठकमा केन्द्र सार्न आवश्यक पर्ने दुई तीहाई बहुमत पुग्न सकेन् । गाउँ सभाबाट निर्णय हुन नसके पनि केन्द्र सार्न हुन्न र सार्नुपर्छ भन्ने मागसहित आन्दोलन भइरहेको हो ।
त्यस्तै, चन्द्रनगर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामचन्द्र कापर, वडा नं. ७ का वडाध्यक्ष रामनारायण कुमरलगायतले हस्ताक्षर गरेर नाढीमै गाउँपालिका रहनु पर्ने मागसहित बुधबार प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउन पूर्वमन्त्री एवं नेपाली कांगे्रसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पूर्व जिल्ला सभापति लक्ष्मण राय र सत्यदेवसिंह दनुवार, नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती पन्त लगायत पनि सीडीओ कार्यालय पुगेका थिए ।