logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा भएको भेलाद्वारा किसान महासंघको प्रदेश कमिटी गठन


  • उज्यालो अभियान

हरिवन – नेकपा एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघको भेलाले प्रदेश नं. दुई स्तरीय समन्वय समिति गठन गरेको छ ।

बुधबार दिउँसो सर्लाहीको हरिवन स्थित नेवा सेवा समाजको सभाहलमा आयोजित भेलाले सिराहाको सुखिपुर नगरपालिकाका मेयर रामअवतार यादवको अध्यक्षतामा १९७ सदस्यीय प्रदेश दुई स्तरीय समन्वय समिति गठन गरेको महासंघ स्थायी समिति सदस्य राजकुमार उप्रेतीले जानकारी दिए । एमाले सम्बद्ध नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष समेत रहेका उप्रेतीका अनुसार भेलामा प्रदेश नम्बर दुई अन्तर्गत आठवटै जिल्लाबाट किसान महासंघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । अब केही दिनभित्रै समन्वय समितिको बैठक बसेर उपाध्यक्ष, सचिव लगायत पदाधिकारीहरुको चयन गर्ने बताईएको छ ।

महासंघका ईन्चार्ज बामदेव गौतम एवं अध्यक्ष हरि पराजुली तटस्थ बसेपछि केही दिनअघि काठमाडौंमा सम्पन्न तत्कालिन नेकपा ओली समूहका किसान नेताहरुको भेलाले महासंघको केन्द्रीय अध्यक्षमा डा. प्रेम दंगाल सहित अन्य पदाधिकारीहरु चयन गरेको थियो । महासंघ प्रदेश दुई समन्वय समितिको अध्यक्षमा चयन भएका यादव केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

प्रदेश स्तरीय प्रशिक्षण एवं नेतृत्व चयनका लागि आयोजित भेला यादवकै अध्यक्षता एवं केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले सर्लाहीका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख विदुरकुमार प्याकुरेल, ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, एमाले नेताहरु तारा पोखरेल, संचिता घिमिरे, रामप्रसाद घिमिरे लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको उप्रेतीले जानकारी दिए ।