लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९, स्थित लाफा खेल मैदानमा आयोजित तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गरिएको छ ।
लालबन्दी नगरपालिकाको आयोजना तथा जनज्योति माध्यमिक विद्यालयको सह–आयोजनामा आईतवारदेखि सुरु भएको प्रतियोगिताको मंगलबार दिउँसो समापन गरिएको हो । प्रतियोगितामा सम्पन्न विभिन्न विधाका खेलमध्ये सबैभन्दा बढीमा जित हाँसिल गर्ने एभरेष्ट आवासिय माध्यमिक विद्यालय लालबन्दी–५, पहिलो हुन सफल भएको छ । त्यस्तै, जनज्योति माध्यमिक विद्यालय लालबन्दी–९, दोस्रो र शिशुकल्याण जनता माध्यमिक विद्यालय लालबन्दी–४, हरिभवन तेस्रो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयहरुलाई कपसहित प्रतिस्पर्धी विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको जनज्योति माविका शिक्षक एवं कार्यक्रम संचालक चेतबहादुर मगरले जानकारी दिए । जनज्योति माविको व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर माझी (मनिष) को अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।