प्रचण्ड र नेपाल

लालबन्दी – सर्लाहीको तीनवटा नगरपालिकाले विहिबार सार्बजनिक बिदा दिएको छ । हरिपुर, बागमती र बरहथवा नगरपालिका कार्यालयले विहिबार एकदिन आ–आफ्नो नगर क्षेत्रभित्र सार्बजनिक विदा दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा सम्बोधन गर्न नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विहिबार सर्लाही आउँदै छन् । विहिबार दिउँसो हरिपुर नगरपालिका–१ हजारबिगाह स्थित विद्यालयमा स्व. वाग्लेको तेह्रौं पुण्यतिथिका अवसरमा आयोजित श्रृद्धाञ्जली सभालाई प्रमुख वक्ताको रुपमा दुई नेताले सम्बोधन गर्ने नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।
स्व. वाग्लेको योगदानको कदर गर्दै सार्बजनिक बिदा दिईएको पालिकाहरुले जनाएका छन् । स्व. वाग्लेको श्रद्धाञ्जली सभामा सरिक हुन पूर्व प्रधानमन्त्री समेत रहेका मुलुककै दुईजना विशिष्ट राजनैतिक व्यक्तित्वहरु समेत आउने भएकाले सार्बजनिक बिदा दिईएको पालिका प्रमुखहरुले प्रश्ट्याएका छन् । हरिपुर नगरपालिकाका प्रमुख जमिरुद्धिन मन्सुरले नगरको विकासमा वाग्लेले पु¥याको योगदानको कदर र देशका दुई जना विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा हुन लागेको कार्यक्रमलाई मध्यनजर गरी विहिबार एक दिन सार्बजनिक विदा दिइएको जानकारी दिए । यस्तै, नगरको विकास निर्माण तथा सामाजिक उत्थानका कार्यहरुमा वाग्लेले पु¥याएको योगदानको उच्च कदर गर्दै बागमती नगरपालिकाले पनि भोली शोक बिदा दिएको उपप्रमुख लिलाकुमारी मोक्तानले बताईन् । त्यसैगरी, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले समेत बुधबार साँझ अबेर सूचना निकालेर विहिबार नगर क्षेत्रमा सार्बजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।
नगरपालिकाको सार्बजनिक बिदामा संघ र प्रदेश सरकार मातहतका सरकारी कार्यालय एवं निजी वित्तीय संस्थाहरु भने खुल्लै रहने गरेको छ । विशेषगरी सरकारी एवं निजी विद्यालयहरु र नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु भने नगरपालिकाले दिएको सार्बजनिक बिदामा बन्द हुने गर्दछन् । विद्यालय लगायत शिक्षण संस्थाहरु बन्द भएपछि श्रद्धाञ्जली सभामा उल्लेख्य उपस्थिती बढाउन समेत टेवा पुग्ने भएकाले सार्बजनिक बिदा दिईएको हुनसक्ने एक राजनैतिक दलका नेताले दाबी गरे । नेकपा सर्लाहीका अध्यक्ष पन्तका अनुसार सभामा २० हजार हाराहारीको उपस्थिती रहने छ ।
नेकपा सर्लाहीका अध्यक्ष पन्तका अनुसार कार्यक्रममा सहभागि हुन प्रचण्ड र नेपाल सँगै सर्लाही आउने छन् । ‘नेपाल कमरेड अहिले साँझै रौतहट आईसक्नु भएको छ, प्रचण्ड कमरेड भोली बिहान साँढे ७ बजे सिमारामा ओर्लेर चपुर आउनुहुन्छ’, बुधबार साँझ अध्यक्ष पन्तले उज्यालो अभियानसँग भने, ‘चपुरमा केहीबेर अलमल पछि सर्लाही आईपुग्दा बिहान ११ बज्ला, अनि सिधै मूर्तिया चोक पुगेर स्व. वाग्लेको प्रतिमा निर्माणका लागि दुवै अध्यक्षज्यूबाट शिलान्यासको कार्यक्रम रहेको छ ।’
लगतै स्थानीय सुमन थापाको घरमा खाना खाएपछि प्रचण्ड नेपालले स्व. वाग्लेको घरमा पुगेर परिवारका सदस्यहरुसँग केहीबेर छलफल गर्ने र त्यहाँबाट पैदलै हिँडेर नजिकै रहेको श्रद्धाञ्जली सभा स्थलमा जाने कार्यक्रम रहेको बताईएको छ । विहिबार दिउँसो साँढे ४ बजे दुवै अध्यक्ष सिमरा हुँदै जहाजबाट काठमाडौं जाने कार्यक्रम रहेकाले सोही अनुसार समयमै कार्यक्रम सम्पन्न गरिने अध्यक्ष पन्तले जानकारी दिए ।
हरिपुर नगरपालिका–१, हजारविगाहा घर भएका वाग्ले माघ २१ गते राती बरहथवा नगरपालिका–९, स्थित नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए । उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी राती मोटरसाईकलमा फर्कँदै गर्दा राती ९ बजे वाग्ले मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले दुर्घटनामै वाग्लेको मृत्यु भएको बताएपनि के कसरी दुर्घटना हुन पुग्यो भन्ने एकिन कारण पत्ता लगाउन सकेको छैन् । यता नेकपा नेताहरुले भने वाग्लेको मृत्यु रहस्यमय भन्दै निश्पक्ष छानविन गर्न माग गर्दै आएका छन् । नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले त घटनाको भोलिपल्टै विज्ञप्ति नै निकालेर मृत्यु रहस्यमय रहेकाले निश्पक्ष छानविन गर्न र दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।