कार्यक्रममा सम्बोधन गर्दै नेकपा नेता गिरिराज मणि पोखरेल सहित उपस्थित अन्य नेताहरु । (तस्बिर : उज्यालो अभियान)


हरिवन – नेकपा प्रचण्ड–नेपाल समूहको शनिबार दुईवटा छुट्टाछुट्टै भेला भएको छ । जिल्ला स्तरीय संघर्ष समिति र जिल्ला कार्यालयको बैठक बसेर विभिन्न निर्णय गरेको बताईएको छ ।
प्रधानमन्त्री एवं आफ्नै पार्टी नेकपाका प्रथम अध्यक्ष केपी ओलीको कदम प्रतिगमन भन्दै आगामी माघ २८ गते काठमाडौंमा आयोजना गरिएको विशाल आमसभा एवं प्रदर्शनमा सर्लाहीबाट धेरै भन्दा धेरै सहभागिता जनाउनका लागि भेला आयोजना गरिएको बताईएको छ । सगुन सहकारीको सभाहलमा आयोजित नेकपा जिल्ला कार्यालयको बैठक नेकपा सर्लाहीका अध्यक्ष एवं संघर्ष समितिका संयोजक रेवती पन्तको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एवं पूर्व मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।


भेलाले माघ २८ गते काठमाडौंमा हुने विशाल प्रदर्शनमा सर्लाहीका तीन हजार ५०० कार्यकर्ताको उपस्थिती गराउने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका सर्लाही नेता विदुर प्याकुरेलले जानकारी दिए । बस, जीप लगायत विभिन्न सबारी साधन सहित मोटरसाईकल र्याली समेत गरेर सर्लाहीबाट कार्यकर्ताहरु काठमाडौं जाने तय भएको प्याकुरेलले बताए ।
कार्यक्रममा जिल्ला स्थित २० वटै पालिकाका संघर्ष समिति संयोजक र सह–संयोजक, प्रचण्ड–नेपाल समूह सम्बद्ध मेयर उपमेयर, नेता कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाका नेता विश्वनाथ साह, पूर्व मन्त्री रामेश्वर राय यादव, जिल्ला ईन्चार्ज एवं केन्द्री सदस्य डाचाराज वाग्ले, केन्द्रीय सदस्य लक्ष्मण पौडेल, प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेती, जिल्ला सचिव कमल बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, चक्रघट्टाका अध्यक्ष विक्रम यादव लगायत पालिका प्रमुखहरुको पनि उपस्थिती थियो ।
