logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा बिहानैदेखि बत्ती आउने–जाने समस्या, सिर्सियामा मर्मतको काम चल्दै


  • उज्यालो अभियान

सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाहीमा आज बिहानैदेखि बिजुली बत्ती आउने–जाने भइरहेको छ ।

कविलासी नगरपालिकाको सिर्सिया क्षेत्रमा डिस पम्चर हुँदा जिल्लाभरकै विद्युत् प्रवाहमा समस्या आएको नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । सिर्सियादेखि दक्षिण सदरमुकाम मलंगवातर्फ जाने लाईन काटेर अहिले मलंगवाकै प्राविधिकहरु मर्मतको काममा खटिएका श्रेष्ठले बताए ।

उनका अनुसार बिहान केही समय समस्या आएपनि अहिले भने लालबन्दी र बरहथवा वितरण केन्द्रबाट वितरण हुने क्षेत्रमा बत्ती नियमित भइसकेको छ । सर्लाहीमा यसरी छिनछिनमै बत्ती गइरहने समस्याले जिल्लावासी हैरान हुँदै आएका छन् । सर्लाही जिल्ला अहिले पूरै रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी विद्युत प्रशारण लाईनको भरमा छ ।

लामो जंगल छिचोलेर ल्याइएको यो बिजुली बीच जंगलमा सामान्य प्राविधिक खराबी आउँदा समेत घण्टौँसम्म पनि अवरुद्ध हुने गरेको छ । हिजोआज चिसो मौसममा शीतले गर्दा पनि ठाउँ–ठाउँमा लाइन सर्ट हुने समस्या देखिने गरेको प्राविधिकहरुले बताएका छन् । नवलपुरमा निर्माणाधीन सव–स्टेशन बनेपछि अहिलेको जस्तो बत्ती गइरहने समस्या नहुने प्राधिकरणले बताउँदै आएको छ ।