logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सीडीओको नेतृत्वमा नौ बिगाहको गाँजा फाँडियो


  • उज्यालो अभियान

गाँजा नष्ट गर्दै सीडीओ सुरेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली । (तस्बिर सौजन्य : प्रहरी)

लालबन्दी – प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गएको प्रहरी टोलीले सोमवार सर्लाहीको नारायणखोलामा करिव नौ बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।

चुरेक्षेत्रस्थित लालबन्दी नगरपालिका वडा नं. १४ मा पर्ने जिल्लाकै दुर्गम भेग नारायणखोलामा व्यावसायिक हिसावले ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएर सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेल नेतृत्वको सुरक्षाकर्मीको जम्बो टोली सोमवार त्यहाँ पुगेको हो ।

सीडीओ पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका उपरीक्षक एसपी गंगाराम श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका एसपी दिलिपकुमार सिंहसहितको टोली गाँजाका बोट नष्ट गर्न त्यहाँ पुगेको थियो । सोमवार मध्यान्ह नारायणखोला पुगेको टोली साँझ अबेर मात्रै त्यहाँबाट फर्किएको थियो ।

प्रहरी उपरीक्षक राठौरले सोमवार राती उज्यालो अभियानसँग कुरा गर्दै त्यस क्षेत्रमा गाँजाको व्यापक मात्रामा खेती हुने गरेको पाइएको जानकारी दिए । उनका अनुसार सोमवार नारायणखोलास्थित सत्रकठ्ठा र त्यस आसपासका क्षेत्रमा लगाइएको तयारी हुनै लागेका गाँजा नष्ट गरिएको हो ।

एसपी राठौरले त्यस क्षेत्रमा गाँजा नष्ट गर्न प्रहरीले अब अपे्रसन नै चलाउने बताए । फोन नै नलाग्ने त्यस क्षेत्रमा सोमवार गाँजा फडानी गर्न हातहतियारसहित ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी लगिएको थियो । केही दिनअघि पनि दुई पटक लालबन्दी र पत्थरकोटबाट गएका प्रहरीले नारायणखोलाको विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

गाँजाबाट राम्रो आम्दानी हुने देखेर नारायणखोलाका स्थानीयहरुले केही वर्षअघि देखि अरु बाली लगाउन छाडेर डाँडापाखाका बारीभरी गाँजाको खेती गर्दै आएका छन् । गत वर्ष पनि तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको नेतृत्वमा प्रहरी टोली पुगेर नारायणखोलाका विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

सडक सञ्जालमा नजोडिएको नारायणखोला पुग्न पत्थरकोटस्थित छेडा गाउँदेखि खोलाको बगर प्रयोग गर्नुपर्छ । सुरक्षाकर्मीको बिरलै उपस्थिति हुने भएकाले नारायणखोलावासीले ढुक्क भएर गाँजा खेती गर्छन् ।

नारायणखोलाका पाखो बारी अहिले गाँजाले हरियै भएका छन् । स्रोतका अनुसार भारतीयहरुको सहयोगमा खेती गरिने गाँजा तयार पारेर बिक्रीका लागि लुकाईछिपाई भारत नै पु¥याउने गरिएको छ । त्यसरी लगिने गाँजा प्रहरीले बेलाबेलामा बरामद समेत गर्दै आएको छ ।