मन्त्री प्रभु साह ।


हरिवन – संघीय शहरी विकास मन्त्री प्रभु साहले सर्लाहीमा भएको दुर्घटनामा आफ्नो नाम जोडेर भ्रमपूर्ण र अतिरञ्जित समाचार प्रकाशित भएको दाबी सहित गम्भिर ध्याकर्षण व्यक्त गरेका छन् ।


मन्त्री साहले आफ्नो फेसबुक पेजमा सर्लाही प्रहरीले समेत घटनालाई सहजिकरण गर्नुको सट्टा अफवाह फैलाएको आरोप लगाएका छन् । ‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाडीबाट झुक्किएर लडेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिडेको सामान्य बिषयलाई “ठक्कर दिएर भागे” भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी खुलेको भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ मन्त्री साहले पोष्टेका छन्, ‘सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।’


तर प्रत्यक्षदर्शीहरुले भने तामाङलाई मन्त्री साह चढेको गाडीले ठक्कर नै दिएको दाबी गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार शनिबार मध्यान्ह हरिवन चोकमा मन्त्री साह चढेको जीपले ठक्कर दिँदा लालबन्दी–८, चन्द्रपुर घर भएका ३०/३५ वर्षीय बच्चु तामाङ घाईते भएका थिए । प्रत्यक्षदर्शी हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्वयवियु सभापति प्रज्वल ढुंगानाले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले ठक्कर दिने वितिकै आफूहरु दौडेर घाईतेको उद्धारतर्फ लागेको तर जीप भने फरार भएको जानकारी दिए ।
पैदल यात्रुलाई ठक्कर दिएर फरार जीप शहरी विकास मन्त्री प्रभु साहको
सर्लाहीमा पैदल यात्रुलाई ठक्कर दिएर मन्त्रीको गाडी फरार !
‘अगाडी झण्डा फहराईरहेको थियो, गाडीको पूरै नम्बर हेरेर नोट गर्ने भन्दापनि हाँमीहरु तत्काल घाईतेको उद्धार तर्फ लाग्यौं’, ढुंगानाले उज्यालो अभियानसँग भने, ‘खाली ३८४२ नम्बर जस्तो देखियो, ठक्कर दिने वितिकै जीप रोक्दै नरोकी पूर्व हुँइकियो ।’

पछी प्रत्यक्षदर्शीले नोट गरेको नम्बरका आधारमा सोधखोज गर्दै जाँदा मन्त्री साहको जीप भएको खुलेको थियो । मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा उनी चढेको ना. १ झ ३८४२ नम्बरको जीपले तामाङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए । ‘मन्त्रीज्यू चढेको जीपले ठक्कर दिएको रहेछ’, राठौरले भने, ‘दुर्घटनाबारे माथि जाहेर गरिसक्यौं, कम्मर खुट्टामा चोट लागेका घाईतेको हरिवनमा उपचार भईरहेको छ ।’
मुलुकको मन्त्री जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाईतेको उद्धार लगायतमा सहभागि हुनुको सट्टा फरार हुनु मानवीय संवेदना विहिन देखिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । ‘यो त कस्तो गैर जिम्मेवार प्रवृत्ति हो’, ढुंगानाले भने, ‘मन्त्री जस्तो मान्छे चढेको जीपले ठक्कर दिएपछि घाईतेको उद्धारमा लाग्नुको सट्टा भाग्नु भनेको गैर जिम्मेवारी र मानव संवेदन हिनता प्रस्तुत भएको छ ।’