logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

माघे संक्रान्तिको फलहार तरुल खन्ने चटारो


  • उज्यालो अभियान

सर्लाहीको शंकरपुरमा तरुल खन्दै गरेका एक मजदुर । (तस्बिर : घनश्याम/उज्यालो अभियान)

घनश्याम बलम्पाकी/शंकरपुर – माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीको पश्चिम क्षेत्रमा व्यवसायिक रुपमा खेती गरिने तरुल खन्न सुरु गरिएको छ ।

व्यापारीहरुले अहिले किसानको खेतमै पुगेर धमाधम तरुल खरिद गरिरहेका छन् । माघे संक्रान्ति आउन दुई हप्ता बाँकी भएपनि अन्यत्र निकासीका लागि अहिले देखिनै तरुल खन्न थालिएको हो । अहिलेदेखि संक्रान्तिसम्म नै तरुल खन्ने चटारो हुन्छ ।

सर्लाहीमा शंकरपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया लगायतका क्षेत्रमा व्यवसायिक रुपमा तरुल खेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानले बर्सेनि राम्रो आम्दानी गर्दै आएका छन् । यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल दुई लाख १५ हजार रुपैयाँमा बिक्री गरिसकेको बागमती नगरपालिका–१०, शंकरपुरका किसान मोहन लुम्रे मगरले जानकारी दिए । किसानले खेतबाटै बेच्ने तरुल व्यापारी आफैले मजदुर लगाई खनेर लाने गर्छन ।

तरुल यो वर्ष प्रतिकठ्ठा १५ देखि २० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको बागमती नगरपालिका–५, राजघाट टेकानीका किसान शिव पुलामीले बताए । पुलामीले पनि आफ्नो छ कठ्ठा खेतमा लगाएको तरुल ९० हजार रुपैयाँमा व्यापारीलाई बेचिसकेका छन् । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बचिरहेको उनले सुनाए । सर्लाहीका किसानले फलाएको तरुल बढी मात्रामा काठमाण्डौं लाने गरिएको व्यापारीहरुले बताएका छन् ।

यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाण्डौं लगायत ठूला शहरहरुबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका–५, का व्यापारी रामनाथ साहले बताए । सर्लाहीका किसानले पताले र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । यहाँको तरुल काठमाडौं, पोखरा, वीरगन्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्छ ।