पिपलदमारमा राहत सामग्री वितरण गर्दै ईश्वरपुरका मेयर देवकोटा, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लगायत । (तस्बिर : उज्यालो अभियान)


बसबरिया – सर्लाहीको बसबरिया र कालिन्जोरमा आईतवार साँढे ५ सय परिवारलाई राहत वितरण गरिएको छ ।


बागमती सेवा समाज नेपाल हरिवनले अक्सफाम नेपाल नामक संस्थाको सहयोगमा कोरोना भाईरस संक्रमणको चपेटामा परेका अति विपन्न, गर्भवती र कुपोषित बालबालिकाको परिवारलाई राहत वितरण गरेको हो । बसबरियास्थित सशस्त्र क्याम्पमा भेला पारेर बसबरियाको ६ वटै वडाका झण्डै ३ सय परिवारलाई राहत प्रदान गरिएको बागमती सेवा समाज नेपालका व्यवस्थापन प्रमुख गजेन्द्र साहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका अन्य प्रमुख, गाउँपालिका उपाध्यक्ष रिनाकुमारी राय लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो । त्यहाँ राहत पाउने ६ सय धरधुरीमध्ये बाँकीलाई (आज) सोमवार बाँडिने छ ।

उता जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२ कालिन्जोरको पिपलदमारमा आईतवार नै २५६ परिवारलाई नगर प्रमुख मनोज कुमार देवकोटा, उपप्रमुख एकावती देवी चौधरी लगायतको उपस्थितिमा राहत बाँडिएको संस्थाका अध्यक्ष भरतकुमार कार्कीले बताए । दुवै स्थानमा बाँडिएको राहतमा प्रति परिवार चामल ३० किलो, दाल ४ किलो, चिनी २ किलो, नुन २ किलो, आलु ३ किलो, प्याज २ किलो, स्वायबिन १ किलो र साबुन ४ पिस रहेका छन् ।