रानीगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ध्रुव गौतमको निधनमा दुःख व्यक्त गर्दै शनिबार उनको गाउँ लालबन्दी नगरपालिका-१७ रानीगञ्ज टिकुलियामा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ ।
नेकपा सर्लाही जिल्ला कमिटीले गौतमको १३ औँ दिनको पुण्य तिथीमा शनिबार दिउँसो श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । पार्टीका जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको अध्यक्षता एवं केन्द्रीय सदस्य अच्यूतम काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सभा सदस्य एवं पार्टीका नेता रवीन्द्र बैठा, नेताहरु लक्ष्मण पौडेल, प्रदेश तथा जिल्ला कमिटी र नगर कमिटीमा आवद्ध नेता कार्यकर्ता, पार्टीबाट निर्वाचित लालबन्दी र ईश्वरपुर नगरपालिकाका जनप्रनिनिधि लगायतको उपस्थिति रहेको थियो ।
लामो समयदेखि ब्रेन ट्यूमरबाट ग्रसित गौतमको ५९ वर्षको उमेरमा मंसिर २९ गते निधन भएको थियो । उनी सर्लाहीको क्षेत्र नम्वर १ का संघीय सांसद्का प्रत्सासी समेत थिए ।
गौतमले लोकतान्त्रिक आन्दोलनमा अमूल्य भूमिका निर्वाह गरेको भन्दै नेकपा जिल्ला कमिटीले परिवारलाई सम्मान स्वरुप कदर प्रदान गरेको जिल्ला कमिटी अध्यक्ष रेवती पन्तले बताए । कार्यक्रममा अध्यक्ष पन्तले केन्द्रमा झगडा भएको जस्तो भएपनि पार्टी विभाजन नभएको बताउँदै जिल्लामा आफू नेतृत्वको कमिटी बाहेक अर्को कुनै कमिटी वा निकाय नरहेको दावी समेत गरे ।
फोटो क्याप्सन : मृतक गौतमको परिवारलाई कदर पत्र प्रदान गर्दै नेकपा जिल्ला अध्यक्ष पन्त । (तस्बिर : उज्यालो अभियान)