दुई दिनमै कालोपत्रे उप्किएर देखिएको गिट्टी । (तस्बिर : उज्यालो अभियान)


हजरिया, पुस १० – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बागमती खोला छेउको बरहथवा नगरपालिका–२, हजरियामा ठेकेदारको लापरवाहीका कारण सडकको कालोपत्रे दुई दिनमै उप्किएपछि स्थानीय रुष्ट बनेका छन् ।


बरहथवा बजारहुँदै जाने सडक अन्तर्गत हजरियाको पन्चायन मन्दिरदेखि ईलाका प्रहरी कार्यालय हजरिया अगाडिसम्मको सडक कालोपत्रे हुनासाथ उप्किएको हो । सडकमा बुधवार मात्रै गरिएको कालोपत्रे कामै नलाग्ने अवस्थामा पुगिसकेको छ ।

सो नगरपालिकाको वडा नं. २ का वडाध्यक्ष यज्ञबहादुर खड्काले आफूहरुले नगर्न भन्दा पनि ठेकेदारले जवरजस्ती गरेको कालोपत्रे काम पूरा हुन नपाउँदै उप्किएको उज्यालो अभियान समाचारदातासँग बताए । ‘हामीले प्रहरी लगाएर पटक–पटक रोक्दा समेत ठेकेदारले बलजफ्ती कालोपत्रे गरे, त्यसैको परिमाण स्वरुप अहिले गुणस्तरहीन कालोपत्रे उप्किसकेको छ, वडाध्यक्ष खड्काले भने ।’
एम.एस.के. लाईट कन्स्ट्रक्शनले भ्याटसहित ६५ लाख रुपैयाँमा सडक कालोपत्रेको ठेक्का सकार गरेको छ । यो बरहथवा नगरपालिकाकै बजेट हो । जसमध्ये अहिलेसम्म ठेकेदारलाई २८ लाख रुपैयाँ भुक्तानि भइसकेको बरहथवा नगरपालिकाको योजना शाखाले जनाएको छ ।
नगरको योजना शाखाका प्रमुख एवं नगरपालिकाका सूचना अधिकारी कमलप्रसाद पौडेलले उज्यालो अभियानसँग हजरियाको सडकमा गुणस्तरहिन कालोपत्रे भएको गुनासो व्यापक मात्रामा आएको बताएका छन् । बरहथवा नगरपालिकाकी उपमेयर सीतादेवी माझीले समेत गुणस्तरहीन काम भएको र प्राविधिकले भने अनुसार गुणस्तरीय काम नभएसम्म बाँकी भुक्तानि नगरिने बताईन् ।
सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदार सुरेश कार्कीले भने कालोपत्रेको काम निर्माणकै चरणमा रहेको दावी गरे । ‘काम पूरा भएकै छैन्, अहिले पनि जारी छ, हस्तान्तरण नहुन्जेल हामी बनाइ हाल्छौँ, अनि यसमा ठेकेदारले बद्मासी ग¥र्यो भन्नै पदैन्,’ उनले भने, ‘बनाइरहेको सडकमा क्षमता भन्दा बढी लोडका टिफर लगायत अन्य सवारी गुडाएपछि भत्की हाल्छ ।’ उनले तापक्रम कम भएको बेला कालोपत्रे गरेर भने गल्ती भएको स्वीकार गरेका छन् ।