गैर चोकमा नवलपुर–मलंगवा सडकखण्ड अवरुद्ध गर्दै विद्यार्थीहरु । (तस्बिर : उज्यालो अभियान)




गैर – सर्लाहीको कविलासी नगरपालिका–७ गैरमा रहेको माध्यमिक विद्यालयका विद्यार्थीहरुले पठनपाठनको माग गर्दै आज(आईतबार) दिउँसो नवलपुर–मलंगवा सडकमा चक्काजाम गरेका छन् ।

शिक्षक नियुक्त गरी सबै विषयको पठनपाठन गर्ने व्यवस्था मिलाईदिन नगरपालिकामा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिएपछि विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा प्रहरी टोली र कविलासी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश लुईटेल जक्काजाम भएको स्थल गैर चोकमा पुगेर विद्यार्थीहरुको समस्याबारे भोली बिहान १० बजेपछि नगरप्रमुख समेतको उपस्थितिमा छलफल गराउने प्रतिवद्धता जनाएपछि विद्यार्थीहरुले चक्काजाम खोलेका थिए । दिउँसो दुई बजेदेखि विद्यार्थीहरुले बन्द गरेको सडक करिव डेढ घण्टापछि सूचारु भएको थियो ।
आफूहरुले पढन नपाएकोबारे प्रधानाध्यापक र नगरप्रमुखलाई बारम्बार ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको विद्यार्थीहरुको गुनासो छ । सो विद्यालयका प्रधानाध्यापक हेमनारायण झाले समेत शिक्षक अभावबारे नगरपालिका कार्यालय अवगत रहेपनि कुनै कदम नचालेको बताए । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा एक जना मावि, दुई जना निमावि, चार जना प्रावि र एक जना बाल विकासमा गरी आठ जना शिक्षक कार्यरत छन् ।
कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादवले भने गैरको सो विद्यालयमा व्यवस्थापन समिति नरहेकाले समस्या भइरहेको र दरबन्दी मिलान गर्दा अर्को विद्यालयबाट दुई जना शिक्षक पठाइएको बताए । उनले दरबन्दी मिलान कार्य असाध्य चूनौतिपूर्ण रहेको गुनासो समेत गरे ।
राहतका धेरै शिक्षकहरु गोल्डेन ह्याडसेक लिएर बिदा भएसँगै पछिल्लो समय जिल्लाका धेरैजसो विद्यालयहरुले शिक्षक अभावको समस्या खेपिरहेका छन् । शिक्षकको माग गर्दै केही दिनअघि मात्रै बसबरिया गाउँपालिकाको मानपुर, कविलासी नगरपालिकाकै जमुनिया, ब्रह्मपुरी गाउँपालिकाको भेल्हीका विद्यार्थीहरु समेत आन्दोलित बनेका थिए ।