logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चतुर्भूजेश्वर जनता माविको स्वर्ण जयन्तिको तयारी तीव्र


  • उज्यालो अभियान

स्वर्ण जयन्तिको तयारीबारे छलफल गर्न भेला भएका सरोकारवालाहरु ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा रहेको चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव एवं स्वर्ण जयन्तिको तयारी तीव्र पारिएको छ ।

सोही क्रममा शनिवार (आज) बिहान सरोकारवालाहरुबीच अहिलेसम्म भएका तयारीका काम र आगामी दिनमा गर्नुपर्ने थप कामहरुबारे छलफल भएको विद्यालयका शिक्षक तथा नेपाल शिक्षक महासंघ हरिवन नगर समितिका अध्यक्ष पुष्कर बुढाथोकीले उज्यालो अभियानलाई जानकारी गराए । छलफलमा सहभागीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त कुमार ब्लोनले अहिलेसम्म भइसकेका तयारीका बारे अवगत गराएका थिए ।

छलफलमा सहभागी व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिकर्मी, समाजसेवी लगायतलाई प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली लगायतले यस क्षेत्रकै पुरानो र ऐतिहासिक विद्यालयको स्वर्ण जयन्तिलाई भव्यताका साथ मनाउन सबैले आ–आफ्नो तर्फबाट सहयोग र योगदान गर्नुपर्नेमा जोड दिए ।

विद्यालयले पुस ९ गते स्वर्ण जयन्ति मनाउने कार्यक्रम तय गरेको छ । मन्त्री स्तरका व्यक्तिलाई प्रमुख अतिथि बनाएर स्वर्ण जयन्ति मनाउने तयारी गरिएको विद्यालयले जनाएको छ ।