logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा शुक्रबारबाट कठ्यांग्रिदो चिसो, शनिबार बिहानबाट बाक्लो हुस्सु


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा शुक्रबार बिहानबाट कठ्यांग्रिदो चिसो बढेको छ । शनिबार बिहानबाट त चिसो सहित बाक्लो हुस्सु कुहिरो समेत लागेको छ ।

चिसो हावा सहितको हुस्सु कुहिरो लाग्दा जनजीवन अत्यन्त प्रभावित भएको छ ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो हावा चल्दा जनजीवन थप कष्टकर बनेको हो । यस क्षेत्रमा दिउँसोपख केहीबेर पारिलो घाम लागेपनि अरु बेला ठिर्याउँदो चिसो हुने गरेको छ भने दिनहुँ तापक्रम घटिरहेको छ ।

शुक्रवार बिहान सर्लाहीको तापक्रम यो वर्ष जाडो सुरु भएयताकै कम ७ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसोपख भने घाम लाग्दा जिल्लावासीले केही राहत महसुस गरेका थिए । साँझबाट फेरी हुस्सु लागेर हावा चल्दा चिसो बढिरहेको छ ।
चिसो छल्न जिल्लाको ग्रामीण भेगका स्थानीयहरु घर तथा चोक चौतारामा आगो बालेर तापिरहेका हाम्रा संवाददाताहरुले छन् । न्यानो कपडा नभएका अति विपन्न, गरिव र पिछडिएको दतिल परिवार बढ्दो चिसोले कठ्यांग्रिएका छन् । मजदुर र किसानलाई दैनिक कामकाजमा निस्कन मुस्किल परिरहेको छ ।

बिहान–बेलुकाको छाक टार्न दिनहुँ अरुकोमा मजदुरी गर्न जानुपर्ने परिवारहरुको यो चिसोमा बिजोग भएको छ । यो बेलामा स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरु बिरामी पर्नुका साथै कठ्यांग्रिएर ज्यान समेत जान सक्ने भएकाले सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन् ।

विपन्न परिवारलाई चिसोबाट बचाउन जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तह तथा अन्य सरोकारवाला निकाय एवं संघसंस्थाहरुले चासो दिएका छैनन् । बढ्दो चिसोले पशुपंक्षी पनि प्रभावित भएका किसानहरुले बताएका छन् । हुस्सु र शीतलहरले आलु, तोरी, मुसुरो, चना लगायतका बालीमा प्रकोप देखिने चिन्ताले किसानहरु पिरोलिएका छन् ।