सेवा शुभारम्भ कार्यक्रममा सहभागी अतिथिहरु । (तस्बिर : कृष्ण थपलिया/उज्यालो अभियान)
कृष्ण थपलिया/लाललबन्दी – आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले अर्थतन्त्रको विकासका लागि सरकारले लिएको तीन खम्बे अर्थ नीति अनुसार काम भईरहेको बताएका छन् ।


विहिबार दिउँसो करदाता सेवा कार्यालय लालबन्दीको शुभारम्भ समारोहमा बोल्दै प्रमुख कर अधिकृत यादवले राज्य, सहकारी र निजी क्षेत्रबीचको सहकार्यमा अघि बढ्ने अवधारणा अनुरुप जनतालाई घरदैलोमा नै सेवा दिने उदेश्यले सर्लाहीको लालबन्दीमा करदाता सेवा कार्यालयको शुभारम्भ भएको जानकारी दिए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले आफुहरुको अनुरोधलाई स्विकारेर सरकारले लालबन्दीमा करदाता सेवा कार्यालयको शुभारम्भ गरेको भन्दै खुसी व्यक्त गरे । अध्यक्ष जोशीले सेवा कार्यालयको स्थापना पछि लालबन्दीमा मात्र नभई आसपासका हरिवन, हरिपुर, ईश्वरपुर, बागमती र बरहथवाका ब्यवसायी हर्षित भएको बताए ।


करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख हुमलाल भट्टराईले लालबन्दी सेवा कार्यालयबाट आसपासका कर कार्यालयसँग आवद्ध ९ हजार ५ सय सेवाग्राही तत्काल लाभान्वित हुने र कर कार्यालयसँग जोडिन चाँहने थप कयौं सेवाग्राहीलाई फाईदा पुग्ने बताए । कार्यालय प्रमुख भट्टराईका अनुसार सेवामुलक कार्यालय भएकाले यहाँ बाट स्थाई लेखा नम्बर (एब्ल्) बितरण, कर चुक्ता, बिवरण भेरिफाई लगाएतका काम हुने छन् ।

कार्यालय प्रमुख भट्टराईले नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णय अनुसार करदाता सेवा कार्यालय लालबन्दीको स्थापना भएको बताए । आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गत पाँचवटा सेवा कार्यालय रहने र त्यसै मध्य लालबन्दीको सेवा कार्यालय पनि रहेको भट्टराईको भनाई छ । कार्यक्रममा करदाता सेवा कार्यलय मलंगवाका प्रमुख बालकृष्ण कट्टेल, स्थानिय उद्योगी व्यापारी तथा लेखा परिक्षकहरुको उपस्थिती रहेको थियो ।
यस्तै प्रकृतिको करदाता सेवा कार्यालय सदरमुकाम मलंगवामा भने केही वर्षअघि नै स्थापना भईसकेको छ । लालबन्दीमा नयाँ कार्यालय स्थापना भएपछि उत्तरी क्षेत्रका उद्योगी व्यापारी एवं कर कार्यालयसँग सरोकार राख्ने सेवाग्राहीलाई थप सहज भएको छ ।